२०८१ बैशाख ७ शुक्रबार

खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा मुखिया

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अध्यक्षमा पत्रकार इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् । शनिवार बिर्तामोडमा भएको मञ्चको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।
नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी आँगन एफएमका प्रवन्ध निर्देशक समेत हुन् । यसअघि पत्रकार हिमाल खरेलको नेतृत्वमा रहेको खेलकुद पत्रकार मञ्चले जिल्लामा आफ्नो उपस्थिति र भूमिकालाई निकै प्रभावकारी बनाएको थियो ।
झापामा आयोजना गरिएका साना ठूला प्रतियोगितामा खेलकुद पत्रकार मञ्चको समन्वय र सहभागिता अनिवार्य भएको थियो । मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चिरञ्जीवी घिमिरे चयन भएका छन् । व्लाष्टकर्मी आचार्य झापाका पुराना पत्रकार हुन् । घिमिरे नयाँ पत्रिका दैनिकमा आबद्ध छन् ।
सहसचिव र कोषाध्यक्षमा क्रमशः भूमिका सुब्वा र प्रकाश बानियाँलाई चयन गरिएको छ । सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला छन् ।
भगिरथ आले मामा संयोजकत्वको निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यको नाम घोषणा गरेको थियो । मञ्चले खेलकुद विधामा पत्रकारिता गर्दै आएका झापाली सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै स्पोटर्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।खेल क्षेत्रको सर्वाधिक लोकप्रिय र धनराशि पुरस्कारसहितको स्पोटर्स अवार्डमार्फत पदक प्राप्त खेलाडी तथा अफिसियललाई मञ्चले सम्मान गर्दै आएको छ ।
मञ्च झापाले यसअघि चारवटा संस्करणको झापा स्पोटर्स अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ । पाँचौँ झापा स्पोटर्स अवार्ड नवनिर्वाचित समितिले मिति घोषणा गरेर आयोजना गर्नेछ ।

२०८० बैशाख ९, शनिबार प्रकाशित 0 Minutes 219 Views

ताजा समाचार