२०८१ बैशाख १२ बुधबार

ओमानमाथि नेपालको सानदार जित

काठमाडौं । बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । घाइते हुँदा अकिब इलियास ब्याटिङमा नआउँदै रिटायर्ट आउट भएका थिए ।

ओमानका मोहम्मद नदीमले ८४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । तर विशाल लक्ष्य पछ्याएको ओमानलाई जितको लागि त्यो पर्याप्त थिएन । सन्दीप गौड ५६ बलमा ३ चौका र २ छक्कासहित ४६ रनमा आउट भए । छैटौं विकेटका लागि सन्दीप र नदिमले ९६ रनको सानदार साझेदारी गर्दै झिनो जितको आशा कायम राखेका थिए ।
तर दीपेन्द्रसिंह ऐरीले ४२ औं ओभरको पहिलो बलमा सन्दीप गौडलाई सोमपाल कामीबाट लङअनमा क्याच गराउँदै उक्त नेपाललाई जित नजिक पुर्याएका थिए । करण केसीको अर्को ओभरमा मिडअफमा रोहित पौडेलले नदिमको उत्कृष्ट क्याच लिएपछि नेपालको जित अनौपचारिकता बाँकी देखिएको थियो ।
ओमानलाई ओपनर जतिन्दर सिंह र कश्याप प्रजापतिले ४.३ ओभरमा ३२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर ललितनारायण राजवंशीले जतिन्दर सिंहलाई १५ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
सन्दीपले १३ औं ओभरको तेस्रो बलमा विकेटकिपर आदिल शफिकलाई १३ रनमा एलबीडब्लू आउट गर्दै आफ्नो करिअरको १ सय विकेट पूरा गरे । उनी ओडिआई इतिहासमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने खेलाडी बनेका छन् । उनले ४२ खेलमा १ सय विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानको नाममा ४४ खेलमा १ सय विकेट पूरा गरेको कीर्तिमान थियो ।
यसै ओभरको अन्तिम बलमा सन्दीपले कप्तान जिशान मकसुदलाई शून्यमा बोल्ड गरे । सन्दीपले अर्को ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई २५ रनमा एलबीडब्लू आउट गरेका थिए । आयन खान २९, फैयज बट १९ र कलिमुल्लाह २ रनमा आउट भए ।
नेपालका सन्दीप लामिछानेले ८ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । करण केसीले ८.३ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ललितले एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । यो नेपालले ओडिआईमा बनाएको हालसम्मकै उच्च योगफल हो । यसअघि नेपालले ओडिआईमा उच्च योगफल अघिल्लो महिना आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो ।

नेपालका कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । कुशलले ५९ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गरेका थिए । उनी नेपालबाट ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बने । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् ।

यसअघि २०२२ रोहित पौडेलले टियुमा नै पपुवा न्युगिनीविरुद्ध ९१ बलमा हानेको शतकको कीर्तिमान तोडेका हुन् । समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी बनेका छन् ।

यसअघि नेपालबाट पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक हानेका थिए । कुशल स्पिनर अकिब इलियासको ४१ औं ओभरको चौथो बलमा मिडअफमा आयन खानबाट क्याच भएका थिए । सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनमा नटआउट रहँदै विशाल योगफलमा पुर्याएका थिए । करण केसी १५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा २९ रनमा नटआउट रहेका थिए ।

तर सुरुवातमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । नेपालले टोलीकै पहिलो रन २८ औं बलमा जोडेको थियो । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानले कुशललाई एलबीडब्लू आउट गरेका थिए ।

चोभार एण्डबाट आएका कलिमुल्लाहको चौथो ओभरको चौथो बलमा आसिफ शेख पनि शून्यमै आउट भए । दुबै ओपनर खाता नखोल्दै आउट भएपनि तेस्रो विकेटका लागि रोहित र भीम सार्कीले ५४ रनको साझेदारी गर्दै इनिङ सम्हाल्लेका थिए ।

तर तीव्र गतिका बलर फैयज बटको १८ औं ओभरको पहिलो बलमा रोहित लेग साइडमा गाइड गर्न खोजेपनि टप एज लागेर प्वाइन्टमा कश्याप प्रजापतिबाट क्याच आउट भए ।

रोहितले ३४ बलमा २ चौकासहित २३ रन बनाए । भीम सार्की ३३ रनमा स्टम्पिङ आउट भए । भीम स्पिनर जिशान मकसुदको २१ औं ओभरको तेस्रो बलमा विकेटकिपर अदिल सफिकबाट स्टम्पिङ आउट भए । भीमले ५६ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

पाँचौं विकेटका लागि आरिफ शेख र कुशल मल्लले ७५ रनको सानदार साझेदारी गरेका थिए । जतिन्दर सिंहको ३२ औं ओभरको पहिलो बलमा आरिफ शेख २९ रनमा कलिमुल्लाहबाट क्याच आउट भए । आरिफ जतिन्दरको पहिलो बलमै आउट हुन पुगेका थिए ।

आरिफले ४३ बलमा २ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरी स्पिनर आयन खानको ३६ औं ओभरको दोस्रो बलमा ७ रनमा बोल्ड आउट भए । ओमानका आयन खानले ५ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए । बिलाल खान, कलिमुल्लाह,जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक एक विकेट लिए ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी छन् । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ ।

समूह बी मा हङकङ, युएई, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल हुँदै विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् ।

२०८० बैशाख ८, शुक्रबार प्रकाशित 0 Minutes 201 Views

ताजा समाचार