२०८१ बैशाख १२ बुधबार

नेपालका प्रयोगकर्ता र सरकारी अकाउन्टको पनि हट्यो ‘ब्लू टिक’, कसरी निःशुल्क प्राप्त गर्ने ?

काठमाडौं । ट्विटरले आज (अप्रिल २१) पैंसा नतिरेका प्रयोगकर्ताहरुको ‘ब्लू टिक’ हटाएको छ ।

ट्विटरमा यसअघि फ्री रहेको भेरिफिकेसन चेकमार्क पाउन एलन मस्कले कम्पनी खरिद गरेपछि भने शुल्क तिर्नुपर्ने नीति ल्याएका थिए । त्यसअनुसार कम्पनीले २० अप्रिलको अन्तिम मितिपछि पैंसा नतिर्ने अकाउन्टहरुको ‘ब्लू चेकमार्क’ हटाएको हो ।

निःशूल्क टिकमार्क

महत्वपूर्ण कुरा मस्कले कुनै पनि सरकार र सरकारी अधिकारीका अकाउन्टहरु भने निःशुल्क रुपमा नै भेरिफाइड टिकमार्क पाउने नीति ल्याएका थिए ।

सरकारी कार्यालयको अकाउन्ट र सरकारी अधिकारीहरुले मापदण्डअनुरुप भेरिफिकेसनका लागि अप्लाई (आवेदन दिएपछि) निःशुल्क रुपमा ग्रे (खैरो रङको) टिकमार्क प्राप्त गर्नेछन् ।

नेपालमा आज नेपाल प्रहरीको ट्विटर अकाउन्ट, नेपाल राष्ट्र बैंकको ट्विटर अकाउन्ट र परराष्ट मन्त्रालयको ट्विटर अकाउन्टमा ग्रे भेरिफाइड टिकमार्क राखिएको छ ।

यसअघि, यी अकाउन्टमा ब्लू टिकमार्क थियो । ट्विटर आफैले यी अकाउन्ट सरकारी कार्यालयका भएको पुष्टि गरेपछि टिकमार्क राखेको देखिन्छ ।

प्रहरी प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले अकाउन्टमा ग्रे चेकमार्कका लागि आफूहरुले आवेदन नदिएको बताए । ट्विटर आफैले आधिकारिक अकाउन्ट हो भन्ने पुष्टि गरेर ग्रे चेकमार्क राखेको हुनसक्ने उनको भनाइ छ ।

चेकमार्क फेर्न निवेदन दिएकोबारे उनले भने, “हामीले केही पनि गरेको हैन, उनीहरु आफैले हो ।”

ट्विटरले सरकारी एवं बहुपक्षीय (तीन वा बढी सरकार सम्मिलित संस्था) संस्था वा सरकारी एवं बहुपक्षीय अधिकारीलाई निःशुल्क रुपमा खैरो रङको चेकमार्क उपलब्ध गराउँछ । यो पाउनका लागि मापदण्डअनुसार फर्म भर्न सकिन्छ ।

कसरी पाउने ट्विटरको भेरिफाइड टिकमार्क ?

ट्विटरमा रहेको मोर भन्ने अप्सनमा गएर सेटिङ एन्ड सपोर्ट भन्ने अप्सनमा क्लिक गर्दा सेटिङको पेजमा पुगिन्छ । त्यहाँ रहेकामध्ये सेटिङ एन्ड प्राइभेसी भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि युजर अकाउन्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि अकाउन्ट इन्फरमेसन भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि भेरिफाइडभन्दा तल रहेको रिक्वेस्ट भेरिफिकेसन भन्नेमा क्लिक गरी स्टार्ट रिक्वेस्ट गर्न सकिन्छ । त्यहाँ माग गरिएको विवरण राखेर भेरिफाइड टिकमार्क पाउन सकिन्छ ।

ट्विटरले सरकारी संस्था एवं अधिकारीलाई खैरो रङको, अन्यलाई निलो रङको र व्यापारिक अकाउन्टलाई सुनौलो रङको चेकमार्क उपलब्ध गराउँछ । बाह्रखरी

२०८० बैशाख ८, शुक्रबार प्रकाशित 0 Minutes 108 Views

ताजा समाचार