२०८१ बैशाख १२ बुधबार

कुशल र भीमको शतकीय साझेदारीमा नेपालले मलेसियाले हरायो

काठमाडौं । कुशल मल्ल र भीम सार्कीको शतकीय साझेदारीप्रेरित नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मंगलबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेसियाले प्रस्तुत गरेको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल मल्लले ७० रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका कुशलले ४० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे ।

भीम सार्कीले ९८ बलमा पाँच चौकासहित ७१ रन बनाए ।

यी दुईले चौथो विकेटका लागि ११२ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्याएका थिए ।

कप्तान रोहितकुमार पौडेलले ४२ र ओपनर कुशल भुर्तेलले ३८ रन बनाए । नेपालका अर्का ओपनर आसिफ शेख भने एक रनमै पभेलियन फर्किएका थिए । दीपेन्द्रसिंह ऐरी पाँच रनमा अविजित रहे ।

मलेसियाका मुहम्मद वफिक, विजय उन्नी, रिजवान हौदर र विरन्दिप सिंहले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रनको योगफल खडा गरेको थियो ।

मलेसियाका कप्तान अहमेद फैजले ७६ रन बनाए । फैजले ९५ बलमा आठ चौका र एक छ्क्का प्रहार गरे । ओपनर विरन्दिप सिंहले ४६ रन बनाए । २२-१ को अवस्थाबाट यी दुईले ११६ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए ।

यसबाहेक, खिजर हायातले २२, स्यार्जुल इद्रुसले २१, मुहम्मद अमिरले १७, मुहम्मद सहादतले १५, सयेद अजिजले १३, विजय उन्नीले १२ रन बनाए ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिदा गुल्सन झा एक विकेट लिए ।

यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रुपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपालसँगै समूह ‘ए’ मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।

 

२०८० बैशाख ५, मंगलवार प्रकाशित 1 Minute 233 Views

ताजा समाचार