२०८३ जेष्ठ २८ बिहीबार

मेची सामुदायिक सेवा केन्द्रको पहलमा सिसि क्यामेरा मर्मत

काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टा बजार क्षेत्रको सुरक्षाका निम्ति जडान गरिएका सिसि क्यामेराले काम नगरेको खुल्न आएको छ । बजार क्षेत्रमा शान्ति सुरक्षा कायमसँगै आपराधिक गतिविधि नियाल्नका लागि केही बर्ष अघि बजार क्षेत्रमा २१ थान क्यामेरा जडान गरिएको थियो ।

उचित व्यवस्थापन र नियमित मर्मतको काम नुहुँदा २१ मध्ये ३ थान क्यामेरा नै हराएका छन् भने भएका १८ वटा क्यामेरा पनि चल्दैनन । जडान गरिएको सिसि क्यामेरा नचल्ने अवस्थामा हुँदा शान्ति सुरक्षा कायम राख्न असहज हुने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताए । ‘शान्ति सुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न सीसी क्यामेराले अत्यन्तै ठुलो सहयोग पुग्छ ।’ उनले भने ‘क्यामेरा बिग्रँदा हरेक गतिविधि नियाल्न प्रहरीलाई सकस पर्ने हुन्छ ।’

यसैबिच सिसि क्यामेरा बिग्रिएको र हराएको जानकारी पाएसँगै मेची सामुदायिक सेवा केन्द्रको पहलमा मर्मत गर्न शुरु गरिएको छ । सिमाको सुरक्षालाई मध्यनजर गर्दै सबै सिसि क्यामेरा सञ्चालन गर्ने गरी मर्मत व्यवस्थापन शुरु गरिएको सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले जानकारी दिए । ‘सिसि क्यामेराका सबै तार चुँडिएका छन,’ अध्यक्ष पौडेलले भने, ‘हराएका क्यामेराको ठाउँमा नयाँ जडान गर्ने र सबै तार नयाँ फेर्ने काम हुँदैछ, करीब एक लाख खर्च गरेर सामुदायिक सेवा केन्द्रले सबै सिसि क्यामेरा एक दुई दिन भित्रैमा पुन सञ्चालनमा ल्याउन लागेको छ ।’

बजार क्षेत्रको सिसि क्यामेरा बिग्रिएको भए पनि मुख्य सडकमा रहेका क्यामेराहरु भने नियमित सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख भारतीले बताए ।

२०८० बैशाख ५, मंगलवार प्रकाशित 0 Minutes 755 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।