२०८१ बैशाख १४ शुक्रबार

मेची रंगशालामा अन्तरपालिका लिग फुटबल हुने

भद्रपुर  । भद्रपुर झापा गोल्डकपले उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने भएको छ । गोल्डकप कार्यसमितिको आइतबार मेची रंगशाला भद्रपुरमा सम्पन्न बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको हो ।

गोल्डकपका अध्यक्ष दीपेश ढकालका अनुसार भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले झापा लिग सञ्चालन गर्न लागिएको हो । लिगमार्फत खेलाडी छनोट गरेर आयोजकको टिमबाट खेल्ने खेलाडी विशुद्ध झापाकै बनाउन लागिएको अध्यक्ष ढकालले बताए ।

महासचिव जीवनकुमार श्रेष्ठले यही असोज कात्तिकमा लिग सुरु गर्ने गरी तयारी भइरहेको जानकारी दिए । झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १५ पालिका छन् ।

त्यस्तै, भद्रपुरमा बाल फुटबल प्रशिक्षण परियोजना सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । त्यसका लागि नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई समूहमा विभाजन गरी कार्यक्रम गरिने गोल्डकपका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले बताए ।

पराजुलीका अनुसार १४ देखि १६ र १७ देखि १९ वर्ष उमेर समूहमा विद्यार्थीलाई विभाजन गरी भद्रपुर झापा गोल्डकप बाल फुटबल प्रशिक्षण कार्यक्रम यही बैशाख ९ गतेबाट सञ्चालन गरिनेछ ।

यसैबीच, बैठकले मेची रंगशालाको स्तरोन्नतिका लागि खेलमैदानको पूर्व÷उत्तर–दक्षिणतर्फको भागमा पक्की प्यारापिट निर्माण तथा रात्रिकालीन खेल गर्न गराउन आवश्यक फ्लड लाइट जडानका लागि सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको उपाध्यक्ष मनोज सुब्बाले जानकारी दिए ।

सुब्बाका अनुसार झापाका पालिका, संघीय तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयसँग आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा बजेट तथा कार्यक्रम माग गर्ने निर्णय गरिएको हो ।

२०८० बैशाख ३, आईतवार प्रकाशित 0 Minutes 200 Views

ताजा समाचार