
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ घुस प्रकरणमा जोडिएका छन् । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको कुराकानीमा सुनिन्छ । उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाहीको तयारी गरेको छ ।
‘कपुरबोट टीभी’ ले सार्वजनिक गरेको अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।

प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् ।