२०८१ बैशाख १४ शुक्रबार

अनुमतिबिना अर्काको फोटो खिचे के हुन्छ कारबाही ?

अनुमतिबिना आफ्नो सामूहिक वा एकल फोटो कसैले खिच्दा जो कोहीलाई चित्त बुझ्दैन।

आफूले अनुमति नदिइकन कसैले फोटो खिचेर सामाजिक सञ्जालमा राख्यो भने त झन् चित्त बुझ्ने कुरै भएन।

यसरी अनुमति नलिई फोटो खिच्नु र सामाजिक सञ्जालमा राख्नु अर्काको गोपनीयताको वा व्यक्तिगत इच्छा विरूद्धको काम हो।यदि कसैले बिनाअनुमति वा जानकारी अर्काको फोटो-भिडिओ खिच्यो वा सामाजिक सञ्जालमा पोस्ट गर्‍यो भने के कानुनी कारबाही हुन्छ?

काम गर्दा-गर्दै, हिँड्दा-हिँड्दै, कतै बसिरहेको बेला वा कुनै पनि अवस्थामा अर्काको फोटो खिच्न पाइन्छ कि पाइन्न? कसैको फोटो कुन अवस्थामा खिच्न मिल्छ, कुनमा मिल्दैन?

अनुमतिबिना व्यक्तिगत वा सामूहिक रूपमा कसैको फोटो-भिडिओ खिच्न पाइँदैन। कानुनले कसैको फोटो खिच्नु अघि अनुमति लिनुपर्ने र के कामको लागि तस्बिर खिचिएको हो भनेर जानकारी दिनुपर्ने उल्लेख गरेको छ।

सार्वजनिक पदधारण गरेका व्यक्तिको फोटो खिच्न भने कुनै समस्या हुँदैन। तर कुन प्रयोजनको लागि वा कुन नियतले तस्बिर खिच्दै हुनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।

फोटो तोडमोड गरेर वा आर्थिक लाभको लागि वा व्यक्तिगत लाभको लागि कसैको फोटो खिचिन्छ भने सो व्यक्ति कानुनी कारबाही पर्न सक्छ। एउटाको फोटो अर्कैकोमा जोडिदिने र फोटो विकृत बनाइदिने काम पनि कानुनीरूपमा दण्डनीय हुन्छ।

कसैको अनुमतिबिना सामूहिक फोटो खिच्न मिल्छ?

मिल्दैन। समूहको फोटो खिच्दा कसैलाई असहज हुन्छ भने कसैले पनि फोटो नखिचिदिन आग्रह गर्न मिल्छ। अनुमतिबिना सामूहिकरूपमा तपाईंसहितको फोटो कसैले खिच्छ भने ऊ कारबाहीको दायरामा पर्छ।

सार्वजनिक स्थलको फोटो खिच्दा त्यसको फ्रेममा समूह वा व्यक्तिको फोटो खिचिन गएको रहेछ भने कानुन लाग्दैन। सार्वजनिक स्थलमै पनि जानाजान अनुमतिबिना सामूहिक वा एकल फोटो लिन भने पाइन्न।

अनुमति नलिई फोटो खिचेमा १ वर्षसम्म कैद वा दश हजार जरिवाना वा दुवै सजाय  हुन सक्छ।

कसैले अनुमतिबिना खिचेको फोटो वा भिडिओ सामाजिक सञ्जालमा हाल्दा कस्तो सजाय हुन्छ? ‍

एउटा प्रयोजनको लागि लिएको तस्बिर अर्कै प्रयोजनमा प्रयोग गरेमा वा अनुमति नलिई खिचेको फोटो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेमा विद्युतीय कारोबार ऐन अन्तर्गत ५ वर्षसम्म कैद र एक लाखसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ।

यही विषयमा मुलुकी फौजदारी संहिता अन्तर्गत उजुरी पर्यो भने १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद हुन्छ। यसरी कसैको अनुमतिबिना खिचिएको फोटो सार्वजनिक रूपमा प्रकाशन गरेको पाइएमा तीन महिनाभित्रमा उजुरी गर्न सकिन्छ।

मुलुकी फौजदारी वा व्यक्तिगत फौजदारी अन्तर्गत उजुरी दर्ता गरेमा सम्बन्धित न्यायपालिका जानुपर्छ। विद्युतीय कारोबार ऐन अन्तर्गत कसैले मुद्दा दर्ता गर्न चाहेमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा गएर मुद्दा गर्न सकिन्छ।

सञ्जालमा प्रकाशन गरेको फोटो उजुरी परेपछि डिलिट गरियो भने कारबाही हुन्छ?

बिनाअनुमति फोटो खिचेर सार्वजनिक रूपमा प्रकाशन गर्नै नपाइने भएपछि डिलिट गर्दैमा सजायबाट उन्मुक्ति पाइन्न। कहिलेकाहीँ उजुरी दर्ता भएपछि सञ्जालबाट फोटो डिलिट गर्ने गर्छन्। उजुरी गरेको व्यक्तिले क्षतिपूर्ति माग गरेको छ भने क्षतिपूर्ति नपाउन्जेलसम्म वा आपसी सहमति नहुन्जेलसम्म फोटो खिच्ने व्यक्ति कानुनी कारबाहीको भागीदार हुन्छ।

सार्वजनिक स्थानमा तस्बिर खिच्दा याद राख्नुपर्ने कुरा के-के हुन्?

सार्वजनिक स्थानमा कसैको फोटो खिच्दै हुनुहुन्छ भने उनीहरूको अनुमति अनिवार्य लिनुपर्छ। सार्वजनिक स्थलको फोटो खिच्दै हुनुहुन्छ र खिच्ने क्रममा व्यक्तिको तस्बिर खिचिएमा भने कुनै चिन्ता लिनुपर्दैन। सामुदायिक महत्व भएको ठाउँको फोटो खिच्दै हुनुहुन्छ भने कसैको सहमति लिँदा वा जानकारी दिँदा पछि सजिलो र ढुक्क हुन्छ। यदि तपाईंले खिचेको फोटोमा कसैले उजुरी गर्छ भने तपाईंले फोटो कुन प्रयोजनको लागि र कुन नियतले खिचेको भनेर स्पष्ट पार्न जरूरी हुन्छ र आपसी सहमतिमा उजुरी फिर्ता लिन सकिन्छ। सेतोपाटीबाट

२०७९ चैत्र २४, शुक्रबार प्रकाशित 1 Minute 470 Views

ताजा समाचार