२०८१ बैशाख ७ शुक्रबार

प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बु लाजेहाङलाइ सहिद घोषणा गर्नुपर्ने माग

 

कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित पहिचानवादी समुहले गरेको बिराटनगरमा प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बु लाजेहाङलाइ सहिद घोषणा गर्नुपर्ने माग गरिएको छ । शुक्रबार बिहान उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुनुभएका लिम्बुलाइ शहिद घोषणा गरी प्रदेशको पुनः नामकरणको माग गर्ने निर्णय संयुक्त सङ्घर्ष समितिले गरेको हो ।

गत चैैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते हुनुभएका लिम्बुको प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । ४२ वर्षीय लिम्बु सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए ।

आफुहरुले अगाडि सारेको माग राज्यले सम्बोधन नगरेसम्म मृतकको शव नबुझ्ने साथै सशक्त आन्दोलनलाइ अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ ।प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको शुक्रवार काठमान्डौमा बसेको आपतकालिन बैठकले उक्त निर्णय गरेको किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन ।

प्रदेशको नाम कोशी खारेजी गरी पहिचानको आधारमा पुनः नामाङ्कनका लागि गरेको माग सम्बोधन नहुन्जेल तथा पदम लिम्बु लाजेहाङलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नगरुन्जेल मृतकको शव जिम्मा नलिने निर्णय भएको उनको भनाइ छ ।

महासचिव तुम्बापोका अनुसार बैठकले आजै अपरान्हदेखि प्रदेशको सबै १४ वटै जिल्लामा र संघीय राजधानी काठमाडौंमा समेत विरोध सभा गर्ने निर्णय गरेको छ । त्यसै गरी, भोली चैत ११ गते प्रदेशभरी केही घण्टा चक्काजाम गर्ने निर्णय पनि समितिले गरेको बताइएको छ ।

यसै बीच, घट्नाको छानबिन गर्न आयोग गठनको माग सहित सङ्घर्ष समितिले संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय पनि गरिएको छ ।

 

 

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित 1 Minute 616 Views

ताजा समाचार