मेचीनगर, ७ चैत । मेची सामुदायिक सेवा केन्द्रको अध्यक्षमा मुक्ति पौडेल निर्वाचित भएका छन् ।
केन्द्रको आज सम्पन्न निर्वाचनमा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार पौडेलले २२१ मत ल्याएर विजयी भएको निर्वाचन समिति संयोजक डिल्लीराम घिमिरेले बताए ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी बिना तामाङले ११९ मत प्राप्त गरेकी थिइन् । अध्यक्ष पौडेल १०२ मतको अन्तरले विजयी भएका हुन् ।
यता सचिव पदमा अर्जुन राई निर्वाचित भएका छन् । उनले २३० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी घनश्याम लामिछानेले ११२ मत मात्र प्राप्त गरेको संयोजक घिमिरेले बताए ।
सचिवमा राई ११८ मत अन्तरले विजयी भएका हुन् । ५१० जना सदस्य रहेको केन्द्रमा ३४३ जना सदस्यले मतदानका भाग लिएका थिए ।
अध्यक्षमा १ जना र सचिव पदमा ३ जनाको मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
केन्द्रको उपाध्यक्षमा बालकृष्ण थापा, महासचिवमा खडानन्द भण्डारी र कोषाध्यक्षमा रोमा थापा मगर यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
त्यस्तै सदस्यहरुमा सजित तामाङ, रमेश कटुवाल, सुदर्शन खड्का, शशि राई, नेत्रप्रसाद पराजुली र मिरा कार्की निर्विरोध निर्वाचित भइसकेको घिमिरेले जानकारी दिए ।
३ वर्षे कार्यकाल रहेको केन्द्रमा मनोनितसहित १९ जनाको कार्यसमिति रहने छ ।