२०८१ बैशाख ७ शुक्रबार

‘प्रथम मेची महोत्सव’ सुरु

मेचीनगर, ६ चैत । धुलाबारीमा ‘प्रथम मेची महोत्सव’ आजदेखि सुरु भएको छ ।

मेची चेम्बर अफ कमर्स मेचीनगरको आयोजनामा आगामी चैत २७ गतेसम्म सञ्चालन हुने महोत्सवको आज एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरे ।

उनले मेचीनगर क्षेत्रका उद्योग, व्यवसायको प्रवद्र्धनका निम्त्ति यस महोत्सवले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकी, चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्ष सन्तोष अग्रवाल, महिला चेम्बर अफ कमर्स झापाकी अध्यक्ष प्रेमा भट्टराई, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । कृषि, व्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सुरु भएको महोत्सवमा ५० वटा भन्दा बढी स्टल राखिएको छ ।

त्यस्तै महोत्सवमा मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन लगायतका विभिन्न खेल सामाग्रीहरु राखिएको छ भने स्थानीय तथा राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती रहने छ । महोत्सव स्थलमा सुरक्षालाई ध्यानमा राखेर सीसी क्यामेरा र हेल्थ डेक्सको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सहआयोजक रोलिङ क्लब धुलाबारीलाई रोलिङ च्यालेन्ज गोल्डकप आयोजना गर्न आर्थिक सहयोग पुर्याउने उद्देश्यले पनि महोत्सव सञ्चालन गरिएको महासचिव खड्काले जानकारी दिए ।

महोत्सव आयोजक समितिका संयोजक रविन बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 0 Minutes 247 Views

ताजा समाचार