प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा पहिलो दिन नै संसद विघटनको विषय प्रवेश पाएकाले सत्ता गठबन्धन परिवर्तन गर्नुपरेको स्पष्टिकरण दिएका छन । संसदमा विश्वासको मत लिने क्रममा उनले एमाले अध्यक्ष ओलीप्रति इंगित गर्दै संसदमा पहिलो दिन नै संसद विघटनको कुरा उठाउनु गर्वको विषय नरहेको बताएका हुन ।
प्रधानमन्त्री दाहालले राष्ट्रपति जस्तो सम्मानित संस्था पटकपटक राजनीतिक विवादमा परेको र त्यसले लोकतन्त्रप्रतिको जनआस्थाकै मानमर्दन गरेको अवस्थामा आफूले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने नयाँ शुरुवात गरेको जानकारी दिए ।
प्रधानमन्त्री दाहालले विगतका कुरा नउठाउने समझदारी ओलीबाट पालना नभएको र आफूलाई चुनौती आएको पनि बताए । पुस १० मा एमालेसँग गठबन्धन गरेर न्यूनतम साझा कार्यक्रमअनुसार सरकार सञ्चालन गर्ने समझदारी भएकोमा त्यो पालना नभएको दाहालको भनाइ थियो । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरौं भन्दा एमाले अध्यक्ष ओलीले नमानेको उनको आरोप छ । प्रधानमन्त्री दाहालले सरकार बाहिर रहेका दलहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको प्रयास गरेको दाबी गरे ।