२०८१ जेष्ठ १० बिहीबार

कसरी चिन्ने जाली नोट ?

काठमाडौँ । काठमाडौँको कालोपुलबाट चैत १ मा नक्कली नोट कारोबारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कारोबारीको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार मंसिरपछि जाली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् ।

नक्कली नेपाली रुपैयाँ कारोबार गर्नेहरुले बजारमा त्यस्ता नोट पठाउँछन् । त्यस्तोमा आर्थिक कारोबार गर्नेहरुले ‘जाली नोट’ कस्तो हुन्छ भन्नेबारे थाहा पाउनु पर्छ । हरेक वर्ष बैङ्कमा डिपोजिट गर्न ल्याउँदा नक्कली भेटिएका २ सय ५० थान नक्कली रुपैयाँ राष्ट्रबैंकले जफत गर्दै आएको छ । त्यस्ता नोट एक सय, ५ सय र एक हजार दरका भेटिन्छन् ।

२०२५–०२६ सालतिर पहिलोपटक ५ रुपैयाँ दरको जाली नोट भेटिएको इतिहास छ । त्यसपछि २०३६–०३७ मा १ सय दरको जाली नोट भैरहवामा फेला परेको थियो ।

जाली नोट चिन्ने दुईवटा तरिका छन् । एउटा नांगो आँखाले हेरेर छुट्याउन सकिन्छ र अर्को मेशिनको प्रयोग गरेर ‘नोट परिक्षण’ गरिन्छ । हरेक बैंकले नोट परिक्षण गर्ने मेशिन राख्नुपर्छ । नोटमा नांगो आँखाले देख्न नसक्ने विशेषता हुन्छन् । त्यस्ता विशेषता पत्ता लगाउन म्याग्नीफाइङ ग्लाँसबाट हेरेर र मेशिनबाट जाँच गर्नुपर्छ । राष्ट्रबैंले स्टेप वाचर तथा युभि लाइट प्रयोग गरेर तथा आँखाले देख्न नसक्ने विषेशता परिक्षण गरेर सक्कली र जाली नोट छुट्याउने गरेको छ ।

नोटमा प्रयोग गरिने पानीछाप र सुरक्षण धागो ‘सेक्युरिटी थ्रेड’ नांगो आँखाले देख्न सकिने हुनाले त्यसलाई नियालेर हेर्नुपर्ने बताउँछन् राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागका प्रधान सहायक श्याम खतिवडा । प्रधान सहायक खतिवडा भन्छन्,‘लालीगुराँस अंकित पानीछाप र सुरक्षण धागो हेरेरै थाहा पाउन सकिन्छ ।’

फरक क्षमता भएकाहरुले छामेर पत्ता लगाउन सक्ने इम्बोस प्रिन्ट र संकेत नोटमा हुन्छ । अहिले प्रचलनमा रहेको १ हजारको नोटमा दायाँतिर सवैभन्दा तल  ‘एम’ लेखिएको हुन्छ । त्यस्ता संकेत महसुस हुने मसि र कागज नोटमा प्रयोग गरिन्छ ।

ढल्काएर हेर्दा ‘सुरक्षण धागो’को रंग परिवर्तन हुन्छ । ढल्काएर हेर्दा इम्बोस प्रिन्टको पनि रंग परिवर्तन हुने मुद्रा व्यवस्थापन विभागका प्रधान सहायक श्याम खतिवडाले बताए । नांगो आँखाले देख्न नसकिने विशेषता म्याग्नीफाइङ ग्लाँसको प्रयोग गरेर हेर्न सकिन्छ ।

एक हजारको नोटमा बायाँ तर्फ दुर्गा भवानीको मूर्ति हुन्छ । सो मूर्तिलाई नांगो आँखाले हेरेर पत्ता लगाउन सकिन्छ । दुर्गा भवानीको मूर्ति २०७६ को सिरिजको नोटमा छ । सो नोटमा ‘थ्रि डी’ सुरक्षण धागो प्रयोग गरिएको छ ।

नेपाली नोटमा ‘कटन बेस’ कागजको प्रयोग गरिन्छ । नोटमा प्रयोग गरिने मसि जहाँसुकै किन्न पाइँदैन ।

जाली नोटमा के हुन्छ ?

जाली नोटमा पानीछाप ‘वाटरमार्क’ र सुरक्षण धागो स्पष्ट देखिँदैन । सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायाँ तर्फ रहेको भागमा पानीछाप स्पष्ट देखिन्छ ।

कुनै जाली नोटमा पानी छाप देखिएपनि सफा, स्पष्ट र डिजाइन मिलेको हुँदैन । त्यस्ता नोटमा भद्दा पानी छाप प्रयोग हुने गरेको देखिन्छ ।

सक्कली नोट छाप्नुअघि नै कागजमा सुरक्षण धागो राखिने हुनाले ‘सेक्युरिटी थ्रेड’मा परेका अक्षर सजिलै पढ्न सकिन्छ । तर, जाली नोटमा सुरक्षण धागो मुनिका अक्षरहरु प्रायः छोपिएका हुन्छन् । सक्कली नोटमा रहेको सुरक्षा धागो उज्यालो तिर फर्काएर हेर्दा अंग्रेजी अक्षर ‘एनआरबी’ लेखिएको पढ्न सकिन्छ । तर, जाली नोटमा राख्रिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।

१ सय र ५ सय दरका नोटमा रंग परिवर्तन हुने सुरक्षाण धागो प्रयोग गरिन्छ । खतिवडाका अनुसार १ हजार दरको नोटमा चलायमान ‘थ्रि डी’ सुरक्षण धागो प्रयोग गरिएको छ । नक्कली नोटमा त्यस्ता विशेषता बनाउन सम्भव हुँदैन ।

नेपाल राष्ट्रबैंक ऐन–२०५८ (संशोधित) अनुसार जाली नोटको कारोबार गरेमा बिगो जफत गरेर तीन गुणासम्म जरिवाना वा ३ वर्ष कैद अथवा दुवै सजाय हुने व्यवस्था छ । मुलुकी अपराध संहिता–०७४ अनुसार ५ वर्षदेखी १० वर्ष कैद र पचास हजार देखी एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । रातोपाटी

२०७९ चैत्र ५, आईतवार प्रकाशित 0 Minutes 304 Views

ताजा समाचार