२०८१ बैशाख २७ बिहीबार

काँकरभिट्टा क्याम्पस : अनेरास्ववियुको नाममा ‘अराजकता’

मेचीनगर, २ चैत । ‘मिनी चुनाव’ को रुपमा लिइने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुँदैछ ।

देशभरका क्याम्पसमा उत्साहका साथ भइरहेको निर्वाचन कार्यक्रम मेचीनगरको काँकरभिट्टा बहुमुखी क्याम्पसमा हुन सकेको छैन ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ‘अराजक’ गतिविधिका कारण काँकरभिट्टा क्याम्पस तनावग्रस्त छ । अझै निर्वाचनको माहोल बन्न सकेको छैन ।

अनेरास्ववियुले गत फागुन १९ गते गरिएको विद्यार्थी भर्ना रद्द गनुपर्ने अडान छाडेको छैन । तोकिएकै समयमा निर्वाचन पनि हुनुपर्ने र सहमति गर्न नचाहने दोहोर चरित्र उसले देखाइरहेको छ । कहिले क्याम्पसमा तालाबन्दी गर्ने त कहिले क्याम्पस बोर्ड जलाउने अनेरास्ववियुको गतिविधि विद्यार्थी पक्षमा हुनै सक्दैन ।

वार्ता र छलफलबाट निकास निकाल्न क्याम्पस प्रशासनले प्रयत्न गरिरहेकै छ । सामुदायिक क्याम्पसको रुपमा रहेको काँकरभिट्टामा भएको अनेरास्ववियुको गतिविधिले विद्यार्थीलाई कस्तो संस्कार सिकाइरहेको छ भन्ने प्रश्नहरु उठेका छन् । छलफलबाटै सहमति खोजेर जानुको सट्टा अराजकता मच्चाउनु स्वयम्लाई घाटा भइरहेको अहिलेको चुनावी माहोलले पुष्टि गरेको छ । अरु संघ संगठनहरुले विद्यार्थी मुद्दा उठाएर चुनावी मैदानमा उत्रिएका छन् । अनेरास्ववियु आन्दोलन गरेर विद्यार्थीबाट टाढा भइरहेको जस्तो देखिन्छ ।

क्याम्पस प्रशासनलाई नमान्ने, विद्यार्थीको पढाई अवरुद्ध गराउने, निर्वाचन सामाग्री च्यात्ने जुन हर्कत भइरहेको छ, यसले अनेरास्ववियु चुनावदेखि डराएको हो की भन्ने आम विद्यार्थीमा शंका पैदा गरेको छ । अरु विद्यार्थी संगठनहरुले असल संस्कार सिकाइरहेका छन् र विद्यार्थीको चुनाव हाम्रै लागि हो भन्ने पवित्र उदेश्य बोकेर उनीहरुले शालिन र संयमता अपनाएका छन् । यो नै चुनावको सुन्दर पक्ष हो ।

अन्त्यमा, अराजकता प्रदर्शन गरेर चुनाव जितिने होइन होला । अर्को कुरा त्यही क्याम्पसमा पढ्ने विद्यार्थीले त्यही क्याम्पसमाथि अनेक प्रहार गर्नु कत्तिको ठीक होला ? यो गम्भीर प्रश्नको जवाफ दिन सक्ला उसले । सक्दैन । त्यसैले काँकरभिट्टा बहुमुखी क्याम्पसमा चुनाव गराउने वातावरण सिर्जना गर्न सबै राजनीतिक दल तथा सामाजिक अगुवा एक हुन जरुरी छ ।

२०७९ चैत्र २, बिहीबार प्रकाशित 0 Minutes 643 Views

ताजा समाचार