२०८१ बैशाख २ आईतवार

चीनलाई कसरी चिन्ने ?

अपेक्षाकृत शान्त कूटनीतिमा विश्वास राख्ने चीनले पछिल्लो समय नेपालको आन्तरिक राजनीतिमा सुक्ष्म स्तरमा हस्तक्षेप गर्न थालेको छ । आफ्नो हस्तक्षेपलाई नेपालको चाहनाको रुपमा परिभाषित गर्ने चीनको यस कार्यमा नेपालका वामपन्थी दल सहयोगी तथा भरियाको काम गरिरहेको छन् । नेपालको राजनीतिमा माओवादी पार्टीको प्रभाव बढे यता चीनलाई धेरै सहज भएको छ ।

एउटा सार्वभौम मुलुकका हैसियतमा नेपाल आफ्नो निणर्य लिन स्वतन्त्र छ । नमागेको सल्लाह दिने अधिकार तेस्रो देशलाई हुन सक्दैन । नेपालले कुन देशसँग कस्तो किसिमको सम्झौता गर्ने हो ? कुन देशसित ऋण-अनुदान लिने अथवा न लिने हो ? कस्तो मैत्री सम्बन्ध कायम गर्ने हो ? लगायतका विषयमा आफ्नो धारणा नेपाललाई कोच्याउने अधिकार चीनलाई कसरी प्राप्त भयो ? चीन हाम्रो राजा र हामी उसको प्रजा त होइन ? कि हामीलाई उसको संरक्षकत्व चाहिन्छ ।

चीनले नेपाललाई आफ्नो उपनिवेश अथवा नयाँ तिब्बत नठान्दा हुन्छ । चीनको हस्तक्षेपको विरोध सरकारी स्तरबाट र नेपालका राजनीतिक दलको तर्फबाट पनि हुनुपर्दथ्यो । नेपालमा चीनको बढ्दो चासो अस्वभाविक र लाजमर्दो छ । तेस्रो मुलुकले अनावश्यक र अनुचित चासो देखाउनु कूटनीति सुहाउँदो व्यवहार होइन ।

उदाहरणका लागि गतवर्ष नेपालले अमेरिकासित गरेको एमसीसी सम्झौता बारे नियमित अन्तरालमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता, चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा नेपालस्थित चिनियाँ राजदूतका विज्ञप्ति सार्वजनिक हुँदै आएको देखियो । नेपालको संसदमा एमसीसी सम्झौता टेबल हुनुभन्दा दुई दिनअघि चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले नेपालमा अमेरिकाले सहकार्यका नाममा जबर्जस्तीको कूटनीति गरेको आरोप लगाउँदै त्यसको आफूहरुले प्रतिवाद गर्ने चेतावनी दिएका थिए ।

तेस्रो देशसितको नेपालको सम्बन्ध बारे त्यसरी बोल्नुलाई कसरी सहन सकिन्छ ? सिलसिला यतिमै रोकिएन । नेपालको संसदमा उपरोक्त सम्झौता टेवल भएको चार दिनपछि पनि चिनियाँ विदेश मन्त्रालयकी एक महिला प्रवक्ताले एमसीसी उपहार हो कि प्यानडोरा बक्स भन्ने प्रश्न गर्दे अल्टिमेटको प्याकेजसहित उपहार आउन नसक्ने आशय व्यक्त गर्नु ठाडो हस्तक्षेप थियो । नमागिएको सल्लाह उत्तरी छिमेकीले

किन दिइरहेको छ बुझ्न सकिएन ?

जनस्तरसम्म विदेशी नेताका विचारलाई पुर्‍याउने सरकारी तौरमा दुई पक्षीय समझदारी किन भयो ? भनेर सोध्ने कुनै राष्ट्रवाद छैन । कम्युनिष्ट पार्टीलाई मात्रै सत्तामा रहन सम्पूणर् कूटनीतिक मर्यादा तोड्दै नेताका घरघरमा झण्डा हल्लाएर पुग्नेसँग यो मर्यादाहीन काम किन गर्दछौ भनेर सोध्ने आँट नेपालको राष्ट्रवादीसँग छैन । हामीलाई तिम्रो हस्तक्षेप आवश्यक छैन भनेर बोल्ने आँट किन भइरहेको छैन ?
अरु राष्ट्रहरुले गरेको सहयोगलाई विस्तारवाद र साम्राज्यवादको दूत घोषणा गर्नुको के अर्थ छ ? त्यसमा पनि नेपालको स्वार्थ भन्दा बढी चीनको स्वार्थ रक्षाका लागि बहस चलिरहेको छ । नेपाल र नेपाली भिख मागिरहुन, दरिद्र रहनु तर नेपालबाट चीनको सुरक्षा हुनुपर्छ भन्ने मान्यता आफैमा कमजोर मानसिकता बाहेक केही होइन ।

-विक्रम दुलाल (मोरङ)

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 1 Minute 269 Views

ताजा समाचार