२०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्रीको धोको अधुरै राखेर राष्ट्रपतिमा रामचन्द्र

२५ फागुन, पोखरा । ४ मंसिरको चुनावमा तनहुँ–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि रामचन्द्र पौडेलको प्रमुख चुनावी एजेण्डा थियो, ‘अबको प्रधानमन्त्री म हुँ ।’ उनले चुनावी सभाहरुमा भन्थे, ‘सभामुख र मन्त्रीसमेत भइसकेको मान्छे हुँ अब म पुग्ने भनेको प्रधानमन्त्रीमै हो ।’

कात्तिक २८ गते तनहुँको डुम्रेमा भएको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलले भोलि देशै हाँक्न सक्ने बताएका थिए । २०७४ सालको निर्वाचनमा तनहुँ–१ बाट हारेर पार्टी राजनीति तथा संसदीय यात्रामा क्षति बेहोरेका रामचन्द्रले यसपटक त्यहीँबाट चुनाव जितेर कार्यकारी प्रमुख बन्ने चाहना सार्वजनिक गरेका थिए ।

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध गर्न नसकिरहेका बेला रामचन्द्रले चर्को विरोध गरे । पछि संसद विघटनविरुद्धको ५ दलीय गठबन्धनको मोर्चामा रामचन्द्र अग्रपंक्तिमै रहे । सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको फैसला ग¥यो र २९ असार २०७८ मा देउवा प्रधानमन्त्री बने ।

सांसद नभएकाले प्रधानमन्त्री बन्ने सम्भावना नभए पनि रामचन्द्रलाई अर्को धोको थियो, १४ औं महाधिवेशनमा पार्टी सभापति बन्ने । २४ मंसिर २०७८ हुने महाधिवेशनमा देउवामात्रै होइन, उनकै विचार समूहमा पनि रामचन्द्रका नाममा सहमति जुटिरहेको थिएन । आफ्नो नाममा सर्वसम्मत गराउन प्रयास गरे पनि कांग्रेस नेता शेखर कोइरालाले नछोडेपछि पौडेलले २५ मंसिरमा प्रतिस्पर्धाबाट अलग भएको घोषणा गरेका थिए ।

राजनीतिबाटै अलगसमेत हुन सक्ने बताएपछि शेरबहादुरले भेटेर ‘रामचन्द्रजी तपाईंको स्वास्थ्य राम्रो राख्नुस्, राष्ट्रलाई तपाईंको खाँचो छ’ भनेका थिए । पहिलो चरणको निर्वाचनमा तटस्थ बसेका पौडेलले दोस्रो चरणमा देउवालाई सहयोग हुने भूमिका निर्वाह गरे ।

राजनीतिक जीवनमा सबैभन्दा बढी देउवासँगै प्रतिस्पर्धा गरेका पौडेलले त्यसयता देउवाको चर्को आलोचना कहिल्यै गरेनन् । उनको विचार समूहका भनिएका शेखर कोइराला–गगन थापाले पौडेललाई छलफलमा बोलाउन छाडिसकेका थिए ।

महाधिवेशनकै क्रममा देउवाले पौडेललाई राष्ट्रपति बनाउने आश्वासन दिएकाले चुप लागेको कांग्रेसभित्र चर्चा थियो । तर अनलाइनखबरसँगको अन्तर्वार्तामा उनले आफूलाई थन्क्याउनकै लागि कपोलकल्पित हल्ला चलाइएको टिप्पणी गरेका थिए ।

‘राष्ट्रपतिमा मैले कहिल्यै लालच राखिनँ । गिरिजाप्रसाद कोइरालाले डा. रामवरण यादवलाई भन्दा पहिला मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो । गिरिजाप्रसादले आफू हुन नपाउने भएपछि विकल्पमा देखेको पहिलो व्यक्ति म नै थिएँ’ २७ फागुन २०७८ मा पौडेलले भनेका थिए, ‘म सुविधाको पदमा बसेर होइन मैदानमा लड्न चाहन्छु । सक्रिय भएर काम गर्ने ठाउँमा बस्न चाहन्छु । तर, ‘रामचन्द्र राष्ट्रपति’ भनेर कपोलकल्पित हल्ला चलाइएको छ ।’

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ५ दलीय गठबन्धनको पक्षमा सक्रिय भएका पौडेललाई महाधिवेशनकै बेला देउवाले राष्ट्रपति बनाउने वचन दिएको कांग्रेस नेताहरु बताउँछन् ।

‘राजनीतिमा तपाईंको ठूलो त्याग छ, समर्पण छ, यसबाट अलग हुने कुरा नगर्नुस्, म तपाईंलाई एक दिन सर्वोच्च पदमा पु¥याएरै छोड्छु भनेर देउवाले वचनै दिनुभएको थियो,’ देउवा पक्षीय केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद उदयशमशेर राणाले भने, ‘५ दलीय गठबन्धन बनाउँदादेखि प्रचण्डलाई पनि धेरै ठाउँमा पौडेलले साथ दिनुभएको थियो । प्रचण्डलाई पनिअप्ठेरोमा कांग्रेसमा साथ चाहिँदा राष्ट्रपतिमा पौडेलकै नाममा एक स्वरमा सहमति भयो । देउवाले दिएको वचन पूरा गर्नुहुन्छ ।’

एक पटक जसरी प्रधानमन्त्री बन्ने सपना अधुरै रहे पनि तनहुँको व्यास नगरपालिका–८ रिस्ती बाहुनपोखराका पौडेल अन्ततः देशकै सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित भए । चुनाव जितेर पनि राजनीतिक परिस्थिति र सत्ता समीकरणले साथ नदिँदा प्रधानमन्त्री हुन नपाएका देउवाले वचन दिएकै कारण राष्ट्रपतिमा जान रामचन्द्र पछिल्लो समय लालायित थिए ।

विद्यार्थी जीवनमै विपी कोइरालासँग निकट भएका पौडेलको कांग्रेसका शीर्ष नेताहरुसँगको उठबसले राजनीतिक महत्वकांक्षा ह्वात्तै बढाएको थियो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाले नेतृत्वको दाबी नगर्दा रामचन्द्रले संसदीय दलको नेता बन्ने अवसर पाएका थिए ।

संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९ महिनामै राजीनामा दिए र त्यसपछि प्रधानमन्त्री बनेका माधवकुमार नेपालले पनि २०६७ सालको असारमा १३ महिनामै राजीनामा दिए ।

त्यसपछि प्रधानमन्त्री बन्न प्रचण्डविरुद्ध रामचन्द्र पौडेलले उम्मेदवारी दिएका थिए । एमाले तटस्थ बस्दा १७ पटकसम्म मतदान हुँदा पनि प्रधानमन्त्री चयन हुन सकेको थिएन । पछि प्रचण्डले एमालेलाई समर्थन गर्दा २३ माघ २०६७ मा झलनाथ खनाल प्रधानमन्त्री भएका थिए ।

१७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार बनेको भन्दै पौडेलमाथि टिप्पणी हुने गरेको छ । सुशील कोइरालाको निधनपछि पौडेल कार्यवाहक सभापति हुँदै १३ औं महाधिवेशनमा सभापति हुन चाहन्थे तर देउवासँग पराजित भएपछि उनको राजनीतिक यात्रामा बे्रक लागेको थियो ।

नेविसंघको संस्थापक सदस्य र २०४० सालमा कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक भएका पौडेलले २०४८ सालमा तनहुँ–१ बाट निर्वाचित भएर संसदको यात्रा थालेका थिए ।

२०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पौडेल पराजित हुन पुगे । पुराना ‘जानी दुश्मन’ भनेर तनहुँमा चर्चा हुने गोविन्दराज जोशी पौडेललाई हराउन कम्मर कसेर लागेका थिए ।

यसपटकको निर्वाचनको दृश्य भने फरक बन्यो, अघिल्लो पटकको प्रतिस्पर्धी एमाले फुटेको बनेको एकीकृत समाजवादी र श्रेष्ठको पनि पौडेललाई समर्थन थियो । पौडेललाई हराउन पूर्व मन्त्री जोशी फेरि पनि उम्मेदवार थिए । तर, पौडेलले सहजै जिते ।

तनहुँमा सातौं निर्वाचनमा पौडेलको यो छैटौं जीत थियो । अर्को पटकबाट चुनाव नउठ्ने तर यसैपटक जितेर एक पटक प्रधानमन्त्री हुने धोको राखेका पौडेल राष्ट्रपतिको कुर्चीमा पुगेका छन् । पौडेल राष्ट्रपति बनेपछि गृहजिल तनहुँमा खुसी छाएको छ भने अब यहाँको संसदीय राजनीति पनि दोस्रो पुस्तामा आइपुग्ने नेताहरुको भनाइ छ । अनलाइन खबरबाट

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 0 Minutes 160 Views

ताजा समाचार