२०८१ बैशाख १५ शनिबार

सार्वजनिक जग्गा मेचीनगरको स्वामित्वमा ल्याउन पहल

मेचीनगर । मेचीनगर नगरपालिकाले राष्ट्रिय आवास कम्पनीसँग रहेको सार्वजनिक सरोकारका जग्गा आफ्नो स्वामित्वमा ल्याउन पहल सुरु गरेको छ । राष्ट्रिय आवास कम्पनीसँग मेचीनगरमा सयौं विगाहा सार्वजनिक जमिन रहेको छ ।

२०४९ सालदेखि रहेको जग्गा समस्या समाधानका निम्ति मेचीनगरको नेतृत्वले विशेष पहल सुरु गरेका कारण साविक काँकरभिट्टा गाविस क्षेत्रमा रहेका सार्वजनिक, संघसंस्था र ब्यक्तिहरुले बसोबास गरिरहेका जग्गाहरु अब छिट्टै हक हस्तान्तरणको प्रक्रियामा रहेको मेचीनगर नगरपालिका स्रोतले जनाएको छ ।

मेचीनगरमा राष्ट्रिय आवास कम्पनीको नाममा मेचीनगर-६ (साविक काँकरभिट्टा गाविस क्षेत्रभित्र) वडा कार्यालय परिसरको जग्गा, विपी-पुष्पलाल तथा सहिद स्मृति प्रतिष्ठानको जग्गा, बारुण यन्त्रको जग्गा, सब्जी बजारको जग्गा, मिनी मार्केटको जग्गा, भानुटोलस्थित मासु बजारको जग्गा, बसपार्कको जग्गा, देवकोटा पार्कको जग्गा रहेका छन् ।

यस्तै, काँकरभिट्टा माविको खेल मैदान तथा अन्य जग्गा, भानु साहित्य प्रतिष्ठान, काँकरभिट्टा खानेपानी संस्थाको जग्गा, स्वास्थ्य चौकीको जग्गा, श्रीजंगा पुस्तकालयको जग्गा, भानुटोलस्थित सार्वजनिक शौचालयको जग्गा, शिवालय परिसरको जग्गा, काँकरभिट्टा धर्मशालाको जग्गा, भिमसेन मन्दिरको जग्गा, महिला विकास सहकारी संस्थाको जग्गा, पूर्व प्रगति टोल (मेची डाँडा) मा बसोबास गरिरहेका १७६ घरपरिवारको जग्गा, भानु टोल दक्षिणमा बसोबास गराइएको १९ परिवारको जग्गा, भानुटोलस्थित फुलबारी एरियामा बसोबास गरिरहेका ११ घर परिवारको जग्गा, टेलिकम कार्यालय पच्छिम बसोबास गरिरहेका घरपरिवारको जग्गा कम्पनीको नाममा रहेको छ ।
मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा राष्ट्रिय आवास कम्पनीसँग जग्गा उपलब्ध गराउन सम्बन्धित सरोकारवाला निकायका प्रमुखसँग छलफल गरिएको छ ।

आइतबार नगर प्रमुख बुढाथोकीको कक्षमा सम्पन्न छलफलमा राष्ट्रिय आवास कम्पनीका केन्द्रीय अध्यक्ष सन्दीप मिश्रसहितको टोलीसँग नगरपालिकाले राष्ट्रिय आवास कम्पनीबाट प्राप्त गर्नुपर्ने जग्गाको बिषयमा छलफल भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
छलफलमा नगर प्रमुख बुढाथोकीसँगै मेचीनगरका संस्थापक नगर प्रमुख एवम् संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी, एमाले नेता डिल्लीराम घिमिरेलगायतले राष्ट्रिय आवास कम्पनीले नगरपालिका क्षेत्रको सार्वजनिक सरोकारको जग्गा यथाशीघ्र उपलब्ध गराउनु पर्ने बताएका थिए ।

यता छलफलमा सहभागी राष्ट्रिय आवास कम्पनीका केन्द्रीय अध्यक्ष सन्दीप मिश्रले अब तत्कालै बोर्डको बैठक बसी यस विषयमा प्रक्रिया अगाडि बढाएर टुंगो लगाउने प्रतिक्रिया दिए ।

छलफलमा मेचीनगर कार्यपालिका सदस्यद्वय हृदय राजवंशी र चित्र धिमाल, एमालेका नेता सुशील आचार्य, नेपाली काँग्रेसका नेता सुरेन्द्र बुढाथोकी, माओवादी केन्द्रका नेता माधव अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भिम कुवर, जनता समाजवादी पार्टीका नेता ओमप्रकाश खापुङ लगायत नगरका सक्रिय राजनीति दलका प्रतिनिधिहरूको उपस्थिति रहेका थियो ।

२०७९ फाल्गुन २१, आईतवार प्रकाशित 1 Minute 420 Views

ताजा समाचार