२०८१ बैशाख १३ बिहीबार

मधुमेह भएकालाई घाउ-चोटपटक लागे चाँडो निको हुँदैन ?

काठमाडौं । मधुमेह अर्थात् डाइबिटिजको समस्या अहिले धेरैमा देखिन्छ । अव्यवस्थित जीवनशैली र खानपानका पछिल्लो समय हरेक घरमा जस्तै मधुमेहका बिरामी देखिन थालेका छन् ।

तर कतिपय कुरामा मधुमेहबारे केही भ्रम पनि पाइन्छ । चिनी धेरै खाँदा मधुमेह हुन्छ ? मधुमेहका बिरामीलाई घाउ-चोटपटक लाग्दा चाँडै निको हुँदैन ? लगायत विषयमा केन्द्रित रहेर भक्तपुर अस्पतालका मधुमेह विशेषज्ञ डा. सुनिल ढुंगेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

कुनैपनि रोगको कारण मधुमेह भएका बिरामीको शल्यक्रिया गर्नुपरेमा समस्या हुन्छ ?

यो भ्रम हो । किनभने मधुमेह भएका बिरामीको शल्यक्रिया गर्न सकिन्छ, । त्यसका लागि ध्यान दिनुपर्ने भनेको शल्यक्रियाको लागि चाहिने सुगरको मात्र मिलाउनुपर्ने हुन्छ । सुगरको मात्रा मिलाइसकेपछि बिरामीलाई कुनै किसिमको समस्या आउँदैन ।

मधुमेह भएकालाई घाउ भए वा चोटपटक लागे चाँडै निको हुँदैन भनिन्छ, यसमा सत्यता कति छ ?

यसमा केही हदसम्म सत्यता छ । तर यो कसमा लागु हुन्छ भने मधुमेहको बिरामी भएपनि सुगर नियन्त्रणमा राखेको छैन भने चाहिं घाउ वा चोटपटक लाग्दा निको हुन समय लाग्छ । मधुमेहको बिरामीले सुगर नियन्त्रणमा राखेको छ भने जुनसुकै घाउ पनि समयमै निको हुन्छ । त्यसैले यसलाई पूर्ण सत्य मान्न सकिन्न ।

डा. सुनिल ढुंगेल

चिनी धेरै खाँदा मधुमेह हुन्छ ?

चिनी खाएर मधुमेह लाग्ने होइन । तर मधुमेह लागेकाहरुले चिनी तथा गुलियो चीज खानुहुँदैन । यस्ता खानेकुराले रगतमा सुगरको मात्र बढाउने तत्व हुन्छ । त्यो तत्व हुने भएका कारण नखाँदा राम्रो भनिएको हो । किनकि मधुमेहका बिरामीलाई यी चीन खाँदा झन् धेरै सुगरको मात्रा बढ्ने भएकाले चिनी तथा गुलियो खानेकुराबाट टाढा रहनु राम्रो हुन्छ ।

मधुमेहका बिरामीले आलु खान हुँदैन भन्ने पनि छ, यस्तो हो ?

मधुमेह भएपछि आलु खान छोड्नै पर्छ भन्ने छैन । किनभने मधुमेहका बिरामीमा खानेकुरा खाने मात्राको भूमिका धेरै महत्वपूर्ण हुन्छ । आलु वा अरु खानेकुरा धेरै खायो भने त्यसले निश्चित रुपमा सुगर बढाउँछ । तर सकेसम्म निश्चित मात्रामा डाक्टरको सुझावअनुसार खानेकुरा वा आलु खाएमा कुनै असर पर्दैन ।

मधुमेह भएकाले चामल खान हुन्न ?

मधुमेह भएकाले चामल खान हुन्न भन्ने पनि सत्यता होइन त्यो पनि भ्रम नै हो । मधुमेह भएकाले अन पोलिस राइस अर्थात् रेसादार खानेकुरा पनि खान मिल्छ । तर चामलमा कार्बोहाइड्रेट हुने र यसमा सुगरको मात्रा बढाउने तत्व अलि बढी हुने भएर त्यसलाई निश्चित मात्रामा मात्रै खाने गर्नुपर्छ । पूरै खान नहुने भन्ने चाहिं होइन ।

मधुमेह भएकाले कुनैपनि खानेकुरा भरपेट खान हुन्न ?

यो सत्य हो । मधुमेह भएकाहरुले भरपेट खाना खानु हुन्न । तर आफूलाई भोक लागेको बेलामा आवश्यकता अनुसार खान मिल्छ तर भरपेट चाहिं खानु हुन्न । बरु समय-समयमा थोरै थोरै खाँदा राम्रो हुन्छ । पेट अटसमटस हुनेगरी वा अघाउनेगरी खाना खानु भएन ।

चाहिनेभन्दा बढी खाना खाएमा शक्तिको रुपमा परिवर्तन हुन सक्दैन । त्यो खाना पचाउन नसकेपछि शक्तिको रुपमा परिवर्तन नभई भण्डारण हुन्छ शरीरमा । त्यो बोसो वा अरु केही भएर शरीरमा बस्छ । जसले गर्दा रगतमा सुगरको मात्रा बढ्न सक्छ । त्यसैले शरीरको ऊर्जाका लागि निश्चित खानेकुरा मात्रै खानुपर्छ, अघाउने गरी खानुहुँदैन ।

अर्को कुरा हाम्रो समाजमा खाना खाइसकेपछि आराम गर्नुपर्छ भन्ने छ । तर मधुमेह भएका बिरामीले भने सकेसम्म खाना खाइसकेपछि बिहान वा बेलुकी २० देखि ३० मिनेट हिंडडुल गरेको खण्डमा खानापछि बढ्ने सुगरको मात्र कम गर्न मद्दत गर्छ । साथै खानाको समय तालिका मिलाउन सके झन् मधुमेहलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

अनलाइन खबरबाट

२०७९ फाल्गुन २१, आईतवार प्रकाशित 1 Minute 306 Views

ताजा समाचार