२०८१ बैशाख ८ शनिबार

जन्मिनासाथ कतिपय शिशुलाई किन हुन्छ जन्डिस ?

काठमाडौं । जन्मिनासाथ शिशुमा जन्डिस हुनु सामान्य हो । समयभन्दा पहिले जन्मिएका शिशुमा त यो झन् सामान्य हो । नवजात शिशुलाई जन्मेको दुई–तीन दिनभित्र जन्डिस हुन सक्छ । केही शिशुमा जन्मेको एकदेखि दुई हप्ताभित्र यो आफैं निको हुन्छ भने केहीमा फैलिँदै जान्छ । तर, कहिलेकाहीँ जन्डिस अन्य रोगहरूको पनि सङ्केत हुन सक्छ ।

धेरै बच्चामा यो अस्थायी रूपमा देखिन्छ र यसले बच्चालाई खासै क्षति पनि पुर्याउँदैन उपचार पछि राम्ररी निको हुन्छ । केहीमा भने यो गम्भीर हुन पनि हुन सक्छ । त्यसैले  शिशुमा हुने जन्मजात जन्डिस भनेको हो ? यसले कुनै दीर्घकालीन समस्या हुन्छ कि हुँदैन ? लगायत विषयमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरकी नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. नीमा श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :

गर्भमै जन्डिस हुन्छ कि जन्मिएपछि ?

गर्भमै जन्डिस हुँदैन, शिशु जन्मिएपछि मात्र हुने हो ।  यस्तो जन्डिस प्रायः बच्चा जन्मिएको २४ घण्टापछि देखा पर्छ ।

के कारणले जन्डिस हुन्छ ?

कलेजोले रगतबाट ‘बिलिरुबिन’ सफा गर्ने काम गर्छ तर कलेजोको राम्रोसँग विकास नभएका बालबालिकालाई बिलिरुबिन फिल्टर गर्न समस्या हुन्छ । त्यस्ता बालबालिकाको शरीरमा बिलिरुबिनको मात्रा बढ्दै जान्छ र जन्डिसको समस्या देखा पर्छ । समयअगावै जन्मिएका शिशु, पर्याप्त स्तन दूध वा फर्मुला नपाएका बच्चाहरू, पहिलो बच्चामा जन्डिस देखा परेको छ भने दोस्रो बच्चामा पनि देखिने सम्भावना हुन्छ ।

आमाको रगत समूहसँग मिल्दोजुल्दो नभएका बच्चालाई नवजात जन्डिसको जोखिम बढी हुन्छ । यसबाहेक नवजात शिशुमा कलेजोमा समस्या, संक्रमण, इन्जाइमको कमी र बच्चाको रातो रक्त कोषिकामा असामान्यताका कारण पनि जन्डिस हुने गर्छ ।

शिशुलाई जन्डिस हुँदा आमालाई पनि हुन्छ ?

शिशुलाई जन्डिस हुँदा आमालाई जन्डिस हुँदैन । शिशुलाई जन्डिस हुँदा आमाले खाना बार्नुपर्छ भन्ने भ्रम पनि छ । तर शिशुलाई जन्डिस हुँदा आमाले खाना पनि बार्नु पर्दैन ।

जन्मजात जन्डिस हुँदा उनीहरूलाई कुनै दीर्घकालीन समस्या हुन्छ ?

जन्मजात जन्डिस हुँदा शिशुलाई कुनै दीर्घकालीन समस्या हुँदैन । तर कुनै बच्चाको जन्डिस  एकदमै बढी भएर त्यो मस्तिष्कसम्म पुग्यो भने त्यसले गर्दा मस्तिष्कघात हुने छारेरोग लाग्ने सम्भावना हुन्छ । समयमै उपचार भयो भने यस्तो सम्भावना पनि हुँदैन ।

कानमा समस्या हुन्छ भनिन्छ नि ?

जन्डिस एकदमै फैलिएर मस्तिष्कसम्म पुगेको बच्चामा कानमा र आँखामा समस्या हुन्छ । कुनै कारण बस जन्डिस घटेन बढेको बढ्यै गरेर रगत नै परिवर्तन गरेर उपचार गर्नुपर्ने अवस्था भएका बच्चामा कानमा र आँखामा समस्या हुने सम्भावना रहन्छ ।

शिशुलाई जन्डिस भएपछि कसरी स्याहारसुसार गर्ने ?

शिशुलाई सामान्य जन्डिस भएको छ भने ३० मिनेटदेखि ४५ मिनेट सबै लुगा खोलेर घाममा राख्नुपर्छ । बच्चालाई इन्फेक्सनबाट बचाउनुपर्छ । उनीहरूलाई आमाको दूध राम्ररी खान दिनुपर्छ । बच्चाको दिसा पिसाब पनि राम्ररी भएको हुनुपर्छ । किनकि यो जन्डिस दिसा पिसाबमार्फत बाहिर निस्किएर जान्छ र बिस्तारै कम हुँदै जान्छ ।

औषधि उपचार कसरी गर्ने ?

नवजात शिशुमा भएको जन्डिसको उपचार सम्भव छ । धेरै फैलिएको छैन भने यो आफैं निको हुन्छ । तर फैलिंदै गयो भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ । जन्डिस फैलिरहेको छ भने ‘फेटो थेरापी’ सेक्ने विधिमार्फत उपचार गरिन्छ । यो उपचारबाट पनि जन्डिस फैलिन रोकिएन भने रगत नै फेरेर उपचार गर्नुपर्ने हुन्छ । अनलाइन खबरबाट

२०७९ फाल्गुन १९, शुक्रबार प्रकाशित 0 Minutes 387 Views

ताजा समाचार