२०८१ बैशाख १४ शुक्रबार

प्रदेश १ संसद बैठकमा आज नामाकरण प्रस्ताव पेस हुने

राजु अधिकारी झापा । प्रदेश एक संसदमा आज प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण प्रस्ताव पेश हुन लागेको स्रोतले जानकारी दियो।

पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसद्ले दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै नामाकरणको विषयको टुंगो लगाउने प्रयास गरेको हो।

‘प्रदेशको नाममा ‘कोशी’ राख्ने एक किसिमको सहमति  सत्तारुढ  दल नेकपा एमाले र प्रमुख विपक्षी कांग्रेसबीच भइसकेको छ। आजको संसद बैठकमा पेश हुन्छ’, एक नेताले सेतोपाटीसँग भने।

यो प्रस्तावमा सबै दलको तर्फबाट समर्थन हुने उनले अपेक्षा गरे।

यद्यपि  स्थानीय पहिचानका आधारमा प्रदेश नं १ को नामाकारण गर्नुपर्नेमा सत्तारूढ दल नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाउँदै आएका छन्।

७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामकरणको टुंगो यसअघिनै लागिसकेको छ।

अघिल्लो संसद्मा पनि एमाले र कांग्रेस मिलेर नाम ल्याउने कोसिस गरेका थिए । तर, उक्त कोसिस माओवादी, नेकपा एस र जसपाको असहयोगको कारण टुंगो लाग्न सकेको थिएन।

प्रदेश १ को पहिलो संसद्ले राजधानी कहाँ राख्ने भन्ने विषयमा टुंगो गरे पनि नामाकरणको टुंग्याएको थिएन।

प्रदेश १ को नाम बहु पहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमत हुन सकेका थिएनन्।

नेपालको संविधानमा प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्छ।  प्रदेश १ मा ९३ जनाको संसद छ। जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद छन्।

सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाई मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामाकरणको टुंगो लगाउने तयारी गरिएको नेताहरु बताउँछन्।

२०७९ फाल्गुन १७, बुधबार प्रकाशित 0 Minutes 221 Views

ताजा समाचार