२०८१ बैशाख ८ शनिबार

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट माग्दै देउवाले पठाए ओलीलाई पत्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।

एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेकै दिन सोमबार देउवाले ओलीलाई पत्र पठाएका हुन्।

राष्ट्रपतिमा पुस १० को सहमतिअनुसार नेकपा माओवादीले आफूहरूलाई सहयोग नगरेको भन्दै एमालेले सरकार छाडेको थियो।

सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोटस्थित निवास पुगेर ओलीलाई बुझाइसकेका छन्।

‘सभापतिज्यूले लेख्नुभएको पत्र मैले एमाले अध्यक्ष ओलीजीलाई घरमै पुगेर उहाँको हातमा राखेर आएको हुँ,’ मुख्यसचिव पौडेलले सेतोपाटीसँग भने, ‘राष्ट्रपतिमा हाम्रा उम्मेदवार पौडेलजीलाई सहयोग गर्न सभापतिज्यूले पत्रमा उल्लेख गर्नुभएको छ।’

गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेबाट नेता सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए।

राष्ट्रपतिमा मनोनयन दर्ता गरेकाहरूले फिर्ता लिन चाहे मंगलबार फिर्ता लिने समय छ। उम्मेदवारी फिर्ता लिने पूर्वसन्ध्यामा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएका हुन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएको बताए। ‘राष्ट्रपतिमा समर्थन वा मित्रवत प्रतिस्पर्धाका लागि’ भन्दै देउवाले ओलीलाई पत्र पठाएका छन्।

‘लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौंl यो अभ्यासले समाजलाई सु-संस्कृत सन्देश दिन सक्नुपर्छl त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु, राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु,’ देउवाले ओलीलाई लेखेको पत्रमा भनिएको छ।

राष्ट्रपति उम्मेदवार बनेपछि पौडेलले पनि जेलमा सँगै बसेकोले एमाले अध्यक्ष ओलीले आफूलाई सहयोग गर्ने अभिव्यक्ति दिएका थिए।

यसअघि एमाले अध्यक्ष ओलीले पनि विभिन्न पार्टीका नेताहरूलाई पत्र पठाएर राष्ट्रपतिमा एमाले उम्मेदवार नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए।

यही फागुन २५ गते राष्ट्रपतिका लागि मतदान हुँदैछ। राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा प्रदेश सभा सदस्यहरू मतदाता हुन्छन्।

यस्तो छ पत्र:

श्री केपी शर्मा ओलिजी,
अध्यक्ष, नेकपा एमाले

बिषय: राष्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि

यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आ-आफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौंl

लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौंl यो अभ्यासले समाजलाई सु-संस्कृत सन्देश दिन सक्नुपर्छl त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु। राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छुl

राष्ट्रपति केबल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौंl यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म वृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सु-संस्कृत अभ्यासको खोजी हुन्छl

विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबीच पनि आपसमा मत माग्ने संस्कृति हाम्रो विशिष्ट पहिचान रहिआएको छl यही पृष्ठभूमिमा माननीय पौडेलका लागि राष्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबीचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु l

सालिन, बौद्धिक र सु-संस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुनुहुन्छ नै संविधानप्रदत्त संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छl

संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु हामी सबैको साझा दायित्व होl यो दायित्व तपाईं, हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छुl

जय नेपाल

शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
०७९ फागुन १५

२०७९ फाल्गुन १६, मंगलवार प्रकाशित 1 Minute 237 Views

ताजा समाचार