२०८१ बैशाख १३ बिहीबार

सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो । बैठकपछि रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘पर्ख र हेरको रणनीतिमा छौँ । दलहरूले राष्ट्रिय सहमति भनिरहेकाले पर्ख र हेरामा छौँ ।’

नागरिकता प्रकरणमा पार्टी सभापति रवि लामिछानेले पद गुमाएपछि उनले फेरि मन्त्री बन्ने प्रयास गरेका थिए । तर, उनले मागेको गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नदिएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, समर्थन भने कायम राखेको थियो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुनावको मुखैमा १० पुसको गठबन्धन परिवर्तन गरी नयाँ आठदलीय गठबन्धन बनाएपछि रास्वपाले कुनै नयाँ निर्णय गरेको छैन । उसले पर्ख र हेरको रणनीति अपनाएको छ । रास्वपाले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने विषयमा पनि आज कुनै निर्णय लिएन ।

उसले १० वैशाखमा हुने चितवन २ काे उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेकाे छ । उता आजै नेकपा एमालेले भने सरकार छाड्दै समर्थन पनि फिर्ता लिइसकेको छ ।

२०७९ फाल्गुन १५, सोमबार प्रकाशित 0 Minutes 265 Views

ताजा समाचार