२०८१ बैशाख ११ मंगलवार

आयल निगमका ४ ट्यांकर डिजेलमा मिसावट‚ छानबिन शुरु

झापा । भारतको सिलिगुडीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको ४ ट्यांकर डिजेलमा मिसावट गरेको भेटिएपछि त्यसबारे छानबिन थालिएको छ ।

नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आइतबार छानबिन थालेको हो। टोलीले मेचीनगर–१३ चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम व्यवसायीसँग आइतबार सोधपुछ गरेको छ।

निगमको चारआली शाखाका प्रमुख भीम विकका अनुसार फागुन १० गते सिलिगुडीबाट ४ वटा ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट भएको आशंका गरिएको छ। ‘केन्द्रबाट आउनुभएका छानबिन टोलीका सदस्यले सोधपुछ र छलफल गरिरहनुभएको छ,’ उनले भने।

नवदुर्गा आयल स्टोर्सका नाममा रहेको प्र १–०१–००–१ ख ३५००, माता पाथीभरा आयल स्टोर्सका नाममा रहेको मे १ ख २१५१, उत्तरगङ्गा यातायात प्रालिका नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सका नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याइएको ८० हजार लिटर डिजेलको गुणस्तर जाँच्दा मिसावट भेटिएको आयल निगमले जनाएको छ।

ती ट्यांकर हाल चारआलीस्थित निगमको शाखा कार्यालय परिसरमा राखिएका छन्। भारतबाट ट्यांकरबाट ल्याइएको पेट्रोलियम पदार्थ निगमको शाखामा गुणस्तर जाँचेपछि सीधै बिक्रेता पेट्रोल पम्पमा पठाउने चलन छ।

निगमको केन्द्रीय कार्यालयकी प्रबन्धक कमला न्यौपानेको नेतृत्वमा गठन भएको छानबिन समितिले आइतबार छानबिन थालेको हो। छानबिन समितिको सदस्यमा निगमको १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका प्राविधिक अधिकृत वीरेन्द्र मिश्र र पेट्रोलियम गुणस्तरसम्बन्धी प्रयोगशालामा कार्यरत अधिकृत शिवहरि आचार्य छन्।

भारतमा नेपालको तुलनामा मट्टितेलको मूल्य थोरै छ। त्यहाँ सरकारी कोटाको मट्टितेल अझ सस्तो हुने गर्छ। नेपाल ल्याइएको डिजेलमा भारतको सस्तो मट्टितेल मिसाइएको हुनसक्ने आशंका गरिएको छ।

पूर्वी नाका काँकरभिट्टाबाट भारतको सिलिगुडी डिपो ३५ किलोमिटर टाढा रहेको छ भने चारआली डिपो १५ किलोमिटरमा छ। भारतमा इन्धन लोड गरिएपछि लगाइएको ट्यांकरको च्याम्बरको चाबी निगमका कर्मचारीसँग मात्र हुने गर्छ।

निगमको​ चारआलीस्थित कार्यालयले नवदुर्गा आयल स्टोर्सको ट्यांकरमा आएको डिजेलको घनत्व ८ सय १३ किलो प्रतिघनमिटर मापन गरेको थियो। जबकि त्यही तेल भारतको सिलिगुडीमा लोड गर्दा ८ सय २९ किलो प्रतिघनमिटर मापन गरिएको थियो। निगमले अढाई किलो प्रतिघनमिटरसम्मको घटबढलाई मात्र मान्यता दिने गरेको छ।

सिलिगुडीबाट चारआली आइपुगेका चारवटै ट्यांकरको डिजेलको घनत्व तोकिएभन्दा धेरै कम भएपछि मट्टितेल मिसावटको आशंका गरिएको हो । मट्टितेलको औसत घनत्व ७ सय ९० किलो प्रतिघनमिटर हुने गर्छ।

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 0 Minutes 490 Views

ताजा समाचार