२०८१ बैशाख ८ शनिबार

जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी

 काठमाडौं । सरकारले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।

आइतबार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने बताएका हुन् । नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने जनयुद्धका शहीदहरुलाई उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताएका हुन् ।

आइतबार जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘वर्तमान सरकारले जनयुद्ध लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरिरहेको छ ।’

२००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीदहरू नेपालको राष्ट्रिय गौरव भएकाले उनीहरूको उच्च सम्मान गर्नुपर्छ भन्नेमा सरकार रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै

प्रधानमन्त्री प्रचण्डले शान्तिप्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गरिने पनि बताएका छन् । सत्य निरूपण तथा मेलमिलापसम्बन्धि विधेयक अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

‘संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरूपण तथा मेलमिलाप विधेयक अगाडि बढेको छ । यो छिट्टै टुंगोमा पुग्छ’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले अगाडि भनेका छन्, ‘जनयुद्धका शहीदहरूको सम्मान, उनीहरूको परिवारका लागि परिपूरण, सन्ततिहरूको शिक्षादीक्षाको काम कानुन बनाएर नै गरिन्छ । त्यसका लागि विधेयक महत्वपूर्ण छ ।’

अन्तरक्रियामा शहीद तथा बेपत्ता परिवारको तर्फबाट बोल्दै अधिवक्ता एकराज भण्डारीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस मनाएर प्रधानमन्त्रीले देशभरिका शहीद र बेपत्ता परिवारलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे ।

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 0 Minutes 238 Views

ताजा समाचार