२०८१ बैशाख ७ शुक्रबार

हत्या घटनाः हजुरबुबाको हत्यापछि कान काटेर गोजीमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.५ स्थित ज्यामिरेका ७० वर्षीय मानबहादुर बस्नेतको हत्या आरोपमा पक्राउ परेका युवाले प्रहरी समक्ष हत्या स्वीकार गरेका छन् ।

हत्याको घटना बिहीबार रातिको हो । घटनामा संलग्न भएको आशङ्कामा शुक्रबार बिहान पक्राउ परेका सोही वडाको सालघारी घर भएका वर्ष २२ का निरज कटुवालले आफूले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस्नेत कटुवालका आफ्नै मावली हजुरबुबा हुन् ।

बस्नेतको घरभन्दा १५ मिनेट टाढा सालघारी घर भएका नाति निरज कटुवालले रातको समयमा गएर हजुरबुबाको हत्या गरेको प्रहरीलाई बयान क्रममा बताएका छन् । बस्नेत सुतिरहेको कोठामा गएर सुरुमा हलोको अनौ फुकालेर हानेको र तत्काल नमरेपछि खुकुरी ल्याएर घाँटी छिनाएको कटुवालले बयानमा बताएका छन् ।

उनको बयानअनुसार खुकुरीले काटेपछि पनि छट्पटाउन नछाडेपछि हातखुट्टामा समेत खुकुरी प्रहार गरेका थिए । त्यसपछि बस्नेतको टाउको घटनास्थलभन्दा केही पर खोलाछेउमा लगेर ढुङ्गामाथि लगेर राखेका थिए । ढुङ्गामाथि राखेर हेर्दा पनि बस्नेतले आँखा हेरिरहेको र नमरेको भन्दै ब्लेडले एउटा कान काटेर गोजीमा हालेको र बाँकी भाग ढूङ्गाले किच्याएर घरनजिकैको लिच्चीको फेदमा लगेर पुरेका थिए ।

त्यसपछि उनी आफ्नो घरमा गएर सुतेका थिए । मृतक बस्नेतका भाइ कमल बस्नेतले शुक्रबार बिहान दाजुको घर पुग्दा उनको शव फेला परेको थियो । उनले छरछिमेकीलाई खबर गरेपछि स्थानीयले लेगुवा प्रहरी चौकीलाई जानकारी गराएका थिए । प्रहरीले घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी नरेन्द्र कुँवरको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

बस्नतेका भाइ कमल, एक जना दिदी घटना भएको घरमा बस्दै आएका थिए । दोस्रो कोठामा सुतेका बस्नेतको हत्या भएको शुक्रबार बिहान भाइ कमलले देखेपछि घटना बाहिरिएको हो । शुक्रबार बिहान उनी बस्दै आएको घरभन्दा १ किलोमिटर पर घरनजिकै लिच्चीको फेदमा गाडी राखेको अवस्थामा एउटा कान र टाउको फेला परेको थियो भने एउटा कान कटुवालले आफ्नो खल्तीमा राखेर सुतेको अवस्थामा प्रहरीले फेला परेको थियो ।

घटनास्थलबाट बस्नेतको टाउको करिब १ किलोमिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठले जानकारी दिए । बस्नेतको शवको पोष्टमार्टम शनिबार जिल्ला अस्पताल धनकुटामा नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रहरीले जनाएको छ । बस्नेतको शव धरानमा पोष्टमार्टम गरी शनिबार साँझ लेगुवास्थित अरुण नदीमा दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार  कटुवालले गाँजा खाने गरेका थिए । उनका हजुरबुबा बस्नेतले यस्तो चिज खानु हुँदैन भनेर सम्झाउँदा उल्टै रिसाउने गरेका थिए । गाँजा खाएकोमा सम्झाउँदा रिसको भm्वाँकमा कटुवालले आवेगमा आएर बस्नेतको हत्या गरेको हुनसक्ने स्थानीयको आँकलन छ ।

२०७९ फाल्गुन १४, आईतवार प्रकाशित 1 Minute 335 Views

ताजा समाचार