२०८१ बैशाख १४ शुक्रबार

पौडेल भर्सेस नेम्वाङ– राष्ट्रपतिमा दुई पूर्वसभामुखको रोचक प्रतिस्पर्धा

२५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङबीच भिडन्त हुने भएको छ । संयोगले दुवै उम्मेदवार पूर्व सभामुखसमेत हुन् ।

८ दलको समर्थन पाएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठकले शनिबार पूर्व कार्यवाहक सभापति, पूर्व उपभापति एवं पूर्व सभामुख पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यता एमालेले पनि उपाध्यक्ष सुवास उपाध्यक्ष नेम्वाङलाई उम्मेदवार बनाएको हो ।

नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन् । पौडेलले २ बजेपछि उम्मेदवारी दर्ता गराउने कार्यसूची छ ।

पौडेल २०५१ सालमा प्रतिनिधिसभाको सभामुख बनेका थिए । एमाले उम्मेदवार नेम्वाङ भने २०६४ र २०७० सालको संविधानसभा निर्वाचनपछि सभाका अध्यक्ष एवं सभामुख भएका थिए ।

पौडेल यसपटकको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित सांसद हुन् । नेम्वाङ भने इलाम– २ बाट विजयी बनेका हुन् ।

पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ मा तनहुँबाट चुनाव जित्दै आएका नेता हुन् ।

नेम्वाङले पनि २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलामबाट लगातार चुनाव जितेका छन् ।

कांग्रेस उम्मेदवार पौडेललाई कांग्रेसहित माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत, नागरिक उन्मुक्तिसहितका पार्टीको समर्थन रहेको छ ।

नेम्वाङलाई एमाले र राप्रपाको समर्थन देखिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेको छैन ।

दुवै उम्मेदवारले आज उम्मेदवारी दर्ता गर्दैछन् । राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य मतदाता हुने राष्ट्रपतिको चुनाव २५ फागुनमा हुनेछ ।

राष्ट्रपति चुनावमा राष्ट्रिय सभा सदस्य र प्रतिनिधिसभा सांसदको प्रतिसदस्य मतभार ७९ हुन्छ । प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।

५२ हजार बढी मतमा २६ हजार ३ सय मत कटाउने उम्मेदवार विजयी हुनेछन् ।

पछिल्लो गठबन्धन अनुसार कांग्रेस उम्मेदवारको पक्षमा बहुमत पुग्ने देखिएको छ ।

राष्ट्रपति चुनावमा कांग्रेसको १६ हजार २२१, एमालेको १५ हजार ३६० र माओवादीको ७ हजार ८२४ मत छ ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 0 Minutes 513 Views

ताजा समाचार