२०८१ बैशाख १४ शुक्रबार

राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै माधवलाई ओलीले पठाए औपचारिक पत्र

काठमाडौँ — राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएका छन् ।

एमालेका नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति निर्वाचनमा सहयोगको आग्रह गर्दै पत्र पठाएका हुन् ।

राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ । तर १० पुसको सहमतिमा एकीकृत समाजवादी भने सहभागी थिएन ।

‘आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार हाम्रो पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङलाई यही २०७९ फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारमा मनोनयन गरिएको छ । नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ,’ ओलीले पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा एकीकृत समाजवादीका अध्यक्षलाई सम्बोधन गर्दै उक्त पार्टीका तर्फबाट सुवास नेम्वाङको पक्षमा मतदान गर्न पनि अनुरोध गरिएको छ । नेकपा एमालेले यसअघि नै राष्ट्रपतिका लागि कांग्रेस बाहेकका दलहरूसँग सहयोग लिन प्रयास गर्ने जनाइसकेको छ । साथै पुस १० मा बनेको पाँच दलीय गठबन्धन अनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्ने एमालेका नेताहरूले दाबी गर्दै आएका छन् ।

जवकि माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा शुक्रबारको आठ दलीय सहमतिबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन जनाउने भएको छ ।

२०७९ फाल्गुन १३, शनिबार प्रकाशित 1 Minute 232 Views

ताजा समाचार