२०८१ बैशाख १३ बिहीबार

चीनको संलग्नताले उब्जाएका प्रश्न

हिमाल नै हिमालले श्रृंगारिएको नेपाल तीन करोड नेपालीको बगैँचा नेपाल, सुन्दर शान्त नेपाल, सबै नेपालीको धड्कनका रूपमा रहेको छ । वर्तमान समयमा नेपाललाई विश्वको खेल खेल्ने मैदानको रूपमा परिवर्तन गर्ने प्रयास भइरहेको नेपाली जनतालाई भान हुँदैछ । विकासका नाममा राजनीतिक हस्तक्षेप अनि मित्रताको नाममा स्वतन्त्रता हनन् अनि सुझावको नाममा निर्देशन दिने कार्य भइरहेको छ ।

राजनीतिक समस्याहरु हरेक देशमा सामान्य हुन्छन् । तर, एक देशको आन्तरिक मामिलामा अन्य देशको हस्तक्षेपलाई धेरैजसो सकारात्मक मानिँदैन । नेपालको सन्दर्भमा पछिल्लो समयमा चीनले नेपालको राजनीतिक र सरकारका गतिविधिलाई प्रभावित गर्नका लागि कोसिस गरिरहेको छ ।

चीनले नेपाल र यसको आन्तरिक राजनीतिक मामिलामा दृढतापूर्वक आफ्नो स्थान स्थापित गर्न खोजिरहेको छ र लगातार धेरै तरिकाले आफ्नो संलग्नता बढाउँदै आएको छ । विगतमा पूर्वाधारको विकासमा मात्र चीनको संलग्नता देख्न सकिन्थ्यो । तर, अन्य क्षेत्रहरुमा धेरै ठूलो हस्तक्षेप थिएन । पछिल्लो समयमा चीनले नेपाली राजनीतिमा भूमिका खोज्दैछ । चीनको डरलाग्दो इतिहासले धेरैलाई नेपाली राजनीतिमा हस्तक्षेप गर्दा यसको पछाडिको मनसायको बारेमा सोच्न बाध्य गरेको छ ।

नेपालमा चीनको संलग्नता नयाँ होइन । तर, यो गतिले समय अघि बढ्दै जाँदा शंकाको मार्ग बनिरहेको छ । चीनले नेपाललाई आफ्नो आर्थिक तथा राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा प्रयोग गर्न सक्ने अवस्थाको सिर्जना हुँदै गइरहेको छ । राष्ट्रिय स्वाभिमानलाई अवमूल्यन गर्नेगरी चीनले लिएको कुटनीतिलाई नेपाली जनताले चासोका साथ हेरिरहेका छन् ।

चिनियाँ आर्थिक लगानीलाई कल्पतरुका रुपमा हेर्ने नेपाल सरकार र चीनसँग आफ्ना विकासे महत्वाकांक्षा परियोजनाका सुची बुझाउने नेपाल सरकारको चलनले राष्ट्रिय सम्मानलाई नै आघात पुगिरहेको छ । नेपाल, चीन र भारतको सम्बन्धमा एक रुपताले हेर्न मिल्दैन । भारतसँगको नेपालको सम्बन्ध पारस्परिक र घनिष्ठ रहँदै आएको छ । त्यसैले भारतसग हाम्रो धेरै कुराहरू जस्तै धार्मिक, साँस्कृतिक, सामाजिक कुराहरुमा एकरुपता पाइन्छ ।

चीनसँग हाम्रो एक छिमेकीको मात्र सम्बन्ध रहँदै आइरहेको छ । हालैका बर्षहरुमा चीनले आर्थिक, राजनीतिक र सीमा जस्ता नेपालका आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप बढाएर लगेको छ । समानताको आधारमा नेपालको सार्वभौमसत्तालाई चीनले सम्मानका साथ कुटनीतिक स्थान दिएको छैन । हाल चीनले नेपालप्रति गर्ने हरेक व्यवहारको परिस्थिति फेर्दै गइरहेको छ ।

चीन नेपालमा उसको आपत्तिजनक र अव्यवहारिक कुटनीतिका कारण अलोकप्रिय बन्दै गइरहेको छ । नेपालमा चिनियाँ उपस्थिति अस्वाभाविक रुपमा बढेर जानु परिणाम के होला भन्ने सर्वत्र चिन्ताको विषय बनेको छ भने नेपाली जनताले चिनियाँ दबाब र हस्तक्षेपले आफ्नो स्वाभिमान गुमेको र नेपालको शीर झुकेको अनुभूति गर्न थालेका छन् ।
नेपालको सन्दर्भमा पनि विकासको पक्षमा चासो देखाइनु ठिकै होला । तर, चीनका विभिन्न महत्वाकांक्षी महँगा ऋणका परियोजनाहरुमा सम्झौता गर्दा दीर्घकालीन असरका बाटाहरु देखिन थालेका छन् । विशेषगरी अनुत्पादक क्षेत्रमा चीनले बढी लगानी गर्न खोजिरहेको छ, यसले भविष्यमा ठुला आर्थिक चुनौतीहरुसँग सामना गर्नुपर्ने अवस्थाको थप सिर्जना गर्दैछ । नेपालको सन्दर्भमा यहाँको आर्थिक तथा राजनीतिक विषयमा चिनियाँ चासो केही बर्षहरुदेखि अस्वभाविक रुपमा बढेर जानु दक्षिण एसियाको भू-राजनीतिमा नेपालप्रति चीनको हेपाहा प्रवृत्ति हो ।

चीनका केही लगानीका आफ्नै स्वार्थहरु छन् । जसले अन्य मुलुकहरूको आन्तरिक र कुटनीतिक पक्षमा आफ्ना ऋणजाल प्रवृत्तिलाई लाद्ने गरेको छ । चीनले अन्तर्राष्ट्रिय मञ्चमा दिने प्रस्तुति र विदेश नीति आफ्नै शर्तमा सञ्चालन गर्ने गरेको छ । आन्तरिक अर्थनीति, सम्पत्ति र राजनीतिलाई पनि कडा शर्तहरुमा अगाडि बढाएको छ ।

छिमेकी वा अन्य मुलुकहरुलाई कमजोर बनाएर त्यसबाट नाजायज र असमान फाइदा लिने रणनीति चीनले अख्तियार गरेको छ । अर्थात चीन छिमेकी या अन्य मुलुकसँगको विदेश नीति सञ्चालन र उनीहरुबाट पाउने सहयोग आफ्नो स्वार्थ निहित होस् भन्ने चाहन्छ । सम्भवतः नेपालप्रति पनि चीनको मान्यता सकारात्मक देखिँदैन ।

वास्तवमा स्वतन्त्र र आत्मसम्मानयुक्त अन्य मुलुकहरूको सार्वभौमिकतामा पनि दबाब होस् भन्ने चाहना चीनले बारम्बार प्रकट गर्दै आइरहेको छ । चीनले लगानी गर्ने परियोजनाको लाभ र लगानीको स्वरुप व्यवहारिक छ कि छैन भन्ने विषयमा नेपाल अहिलेसम्म स्पष्ट भएको छैन । अतः नेपाल सरकारले चिनियाँ ऋण लगानीको अन्तरनिहित राष्ट्रिय हित कुटनीतिसँगै आफ्ना विकास परियोजना बारेका स्पष्टता र तिनको औचित्य पूर्ति गर्ने सहास चीनसामु नेपालले राख्न सक्नुपर्दछ । चीन सरकारले नेपालसँगको अन्तर सम्बन्धलाई हस्तक्षेपकारी भूमिकाबाट प्रभावित गर्न खोजे दुई मुलुकबीचको सम्बन्ध नराम्रोसँग अवमूल्यन हुनेछ ।

नेपाललाई विभिन्न विकासका योजनाहरुको लागि चीनको आर्थिक सहयोगको नकारात्मक पक्षहरुलाई कम गर्नको लागि उपायहरु अपनाउनु पर्छ । साथै, चीनसँग सम्बन्ध कायम राख्दा, नेपालले आफ्नो अन्य कूटनीतिक सम्बन्धलाई भुल्नु हुँदैन । निसन्देह हालका वर्षहरुमा नेपालमा चिनियाँ प्रभाव बढेको केही घटनाक्रमले चित्रित गर्दछ ।

-समिर राई (झापा)

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 1 Minute 434 Views

ताजा समाचार