२०८१ बैशाख १३ बिहीबार

युक्रेन द्वन्द्वलाई शान्तिपूर्ण रुपमा समाधान गर्न चाहेको पुटिनको भनाई

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेन द्वन्द्वलाई शान्तिपूर्ण रुपमा समाधान गर्न चाहेको बताएका छन् । युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको डोनबास क्षेत्रको द्वन्द्वलाई शान्तिपूर्ण माध्यममार्फत् समाधान गर्न चाहेको बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले छिमेकी युद्धग्रस्त देश युक्रेन भ्रमण गरेको केही घण्टामै रुसी राष्ट्रपति पुटिनको यस्तो प्रतिक्रिया आएको हो । सम्बोधनका क्रममा पुटिनले शान्ति सम्झौतामा पश्चिमा मुलुकको प्रतिबद्धता झुटा सावित भएको पनि उल्लेख गरे । पश्चिमाहरूले राजनीतिक हत्या र विश्वासघातको प्रयास गरेको पनि उनले दाबी छ ।

राष्ट्रपति पुटिनले युक्रेनले जैविक र आणविक हतियार जम्मा गरेको पनि आरोप लगाए । पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको पनि पुटिनले दाबी गरे । युक्रेन–रुस युद्धको एक वर्ष पुगेको अवसरमा बाइडेन सोमबार युक्रेन पुगेका थिए । अमेरिकाले पटकपटक युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । साथै युद्धका लागि रुस जिम्मेवार रहेको भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय मञ्चहरूमा रुसलाई दबाब दिँदै आएको छ ।

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 1 Minute 145 Views

ताजा समाचार