२०८१ बैशाख १३ बिहीबार

माओवादी नेता कांग्रेसतिर ढल्किदा योगेश र विश्वप्रकाशको आ-आफ्नै दाबी

सुर्खेत । यतिबेला राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रदेखि प्रदेशसम्म चर्चा परिचर्चा भइरहेको छ । विशेषगरी सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुको भनाइमा एकरुपता नआउँदा नेपाली कांग्रेसका नेताहरु भने कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरिरहेका छन् ।

पार्टी संगठन सुदृढ पार्ने उद्देश्यसहित काठमाडौंबाट कर्णालीमा आएका केन्द्रीय नेताहरुले राष्ट्रपतिको निर्वाचनमा आ–आफ्नै दाबी र धारणा प्रस्तुत गर्ने गरेका हुन् । केही दिन यता नेकपा एमालेका सचिव योगेश भट्टराई, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र माओवादी उप–महासचिव शक्ति बस्नेत कर्णालीमा छन् । तीनै जनाले राष्ट्रपतिको निर्वाचनलाई लिएर आ–आफ्ना दाबी र धारणा कार्यकर्ता सामु राख्ने गरेका छन् ।

आइतबार माओवादीको कर्णाली प्रदेश तेस्रो पूर्ण बैठकमा माओवादी नेता बस्नेतले राष्ट्रपतिको विषयमा एमालेसँग कुनै सहमति नभएको बताए । ‘यसर्थ राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा चयन हुन्छ,’ बस्नेतको भनाइ थियो, ‘हामी यताउता हिँडेको होइन, आफ्नै बाटो हिँडेका हौं ।’

यद्यपि एमालेका नेताहरु भने राष्ट्रपति एमालेलाई दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरिसकेकाले एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरिरहेका छन् । एमाले सचिव भट्टराईले शनिबार एमाले कर्णाली प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर राष्ट्रपतिको चुनावबारे अभिव्यक्ति दिए । उनको भनाइ थियो– राष्ट्रपति हामी माग्न गएका होइनौं, प्रचण्डज्यू आफै दिन आउनुभएकाले त्यो विषय बाहेक एमालेले अन्य कुरा सोचिरहेको छैन ।

भट्टराईले सोमबार पनि सोही कुरा कार्यकर्तामाझ दोहो¥याए । वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमा उनले प्रधानमन्त्रीमा प्रचण्डलाई एमालेले उद्धार गरिदिएको बताए । भट्टराईले प्रतिपक्ष मानसिकताका साथ तयार भएर बसेको एमालेले सरकार गठन गर्न प्रचण्डलाई नत्थी लगाएर नतानेको जिकिर गरे । ‘हामी प्रतिपक्षको मानसिकताका साथ बसिरहेका थियौँ, कांग्रेसले प्रधानमन्त्री पद नदिएपछि कमरेड प्रचण्ड हामीसँग आउनुभयो,’ उनले भने, ‘हामीले प्रधानमन्त्री बनाएर उद्धार गरिदिएका हौं ।’

एमालेलाई राष्ट्रपतिमा सघाउने माओवादीकै प्रस्ताव भएकाले आफैले गरेको प्रस्तावबाट प्रचण्ड पछि नहट्ने विश्वास पनि भट्टराईले व्यक्त गरे । ‘उहाँ (प्रचण्ड’ आफै आएर एक खालको प्रस्ताव गर्नुभयो, त्यसपछि मात्रै एक खालको गठबन्धन बन्ने वातावरण बनेको थियो,’ उनी भन्छन्, ‘गठबन्धनलाई निरन्तरता दिने वा कांग्रेसलाई साथ दिने भन्ने कुरामा प्रधानमन्त्रीज्यू प्रस्ट हुनुपर्छ ।’

राष्ट्रपति एमालेले नपाए प्रतिपक्षमा बस्ने उनको भनाइ छ । उनको विचारमा माओवादीका नेताहरु भने सहमत छैनन् । बरु माओवादीका नेताहरु कांग्रेसतिर ढल्किएको जस्तो देखिन्छ ।

केही दिनअघि माओवादी नेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिमा कांग्रेसलाई अघि सार्ने संकेत गरेका थिए । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई कांग्रेसले समेत समर्थन गरेकाले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आजको आवश्यकता हो, अन्यथा गठबन्धन रहने नरहने कुरा यसै भन्न सकिँदैन ।’

यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भने अब शितल निवासमा कांग्रेसकै व्यक्ति पुग्ने ठोकुवा गर्छन् । आइतबार र सोमबार सुर्खेतमा कार्यकर्तालाई सम्बोधनका क्रममा शर्मा राष्ट्रपति कांग्रेसकै व्यक्ति बन्ने दाबी गरे ।  सरकारको विषयमा कांग्रेसकै केही कमजोरी रहेकाले बाहिरिनुपरेको उल्लेख गर्दै उनले राष्ट्रपतिमा कांग्रेसले परिणाम निकाल्ने बताए । यतिमात्र होइन, उनले वर्तमान सत्ता गठबन्धन धेरै दिन नटिक्ने समेत दाबी गरे । ‘चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर बनेको थिएन,’ शर्माको भनाइ थियो ।

शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह समेत गरे । राष्ट्रपतिमा कांग्रेसका तीन जनाको नाम चर्चामा रहेको बताउँदै शर्माले देउवालाई नै बनाउने कि भन्ने विषयमा आफूहरुले सोचिरहेको बताए । आफूले केही दिन अघि देउवालाई नै उम्मेदवार बन्न सुझाएको र देउवाले अस्वीकार गरेको पनि उनले उल्लेख गरे ।रातोपाटीबाट

२०७९ फाल्गुन ८, सोमबार प्रकाशित 0 Minutes 298 Views

ताजा समाचार