२०८१ बैशाख १२ बुधबार

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन् ।

सोमबार आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘संकटमा लघुवित्त, कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताए ।

पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको उनले बताए । उनले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उल्लेख गरे ।

वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको भन्दै उनले लघुवित्तमा पछिल्लो समय देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताए । उनले स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बढ्दै गएको बताए ।

नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईवस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गरे । उनले लघुवित्तहरुले धेरै राम्रो काम उदाहरण रहेको भन्दै सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम नलाग्ने बताए ।

कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन सबैलाई आग्रह गर्दै नेपालले लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताए ।

पछिल्लो समय पाँचदेखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्सन गरिने बताउँदै उनले पछिल्लो समय केही सेयरका खेलाडीहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेकोसमेत आरोप लगाए । उनले कोरोना माहामारी र तरलता अभावको कारण पनि लघुवित्तहरुमा समस्या आएको बताए ।

त्यस्तै माइक्रोफाइनान्स एसोसिएसन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताए । उनले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनभित्र लघुवित्तहरु बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताए ।

२०७९ फाल्गुन ८, सोमबार प्रकाशित 0 Minutes 155 Views

ताजा समाचार