२०८१ बैशाख ८ शनिबार

नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)। तीन ब्याटरको उत्कृष्ट अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि तीन विकेटको सानदार जित हात पारेको छ ।

जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतकीय इनिङको योगदान दिए । आइसिसी विश्वकप लिग २ मा नेपालले पहिलो पटक एकै सिरिजमा तीन खेल जितेको हो ।

नेपालका युवा ओपनर आसिफ शेखले ९८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ८१ रनको योगदान दिए । आसिफको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो । अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल ७४ बलमा ५ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए ।

ज्ञानेन्द्रको यो ओडिआई करिअरको सातौं अर्धशतक हो । दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ कीर्तिमानी शतकीय साझेदारी गरेका थिए । जुन कुनैपनि विकेटका लागि नेपालबाट ओडिआईमा बनेको उच्च साझेदारी हो । यसअघि नामिबियाविरुद्ध नै कुशल भुर्तेल र रोहित पौडेलले तेस्रो विकेटका लागि १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए ।

कुशल मल्ल ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए । कुशलको यो ओडिआई करिअरको तेस्रो र लगातार दोस्रो अर्धशतक हो । कुशलले स्कटल्यान्डविरुद्ध ८१ रनको इनिङ खेलेका थिए । चौथो विकेटका लागि रोहित र कुशल मल्लले ९२ रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । रोहित पौडेल ४३ बलमा ५ चौकासहित ३९ रनमा आउट भए ।

तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई एक रनमा क्याच आउट गराएका थिए । स्क्वायर लेगमा कुशल पिक्की या फ्रान्सबाट क्याच आउट भएका थिए । त्यसपछि ज्ञानेन्द्र र आसिफले कीर्तिमानी शतकीय साझेदारी गर्दै जित सहज बनाएका थिए ।

दीपेन्द्र एक रनमा आउट भए । सन्दीप जोेरा ३ रनमा आउट भए । सोमपाल कामी ८ रनमा अविजित रहे । सोमपाल कामीले स्पिनर जेरार्ड इरास्मसलाई लङअफमा विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए ।

स्कटल्यान्डका बेनार्ड स्कोट्जले १० ओभरमा २ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिए । रुबेन ट्रम्पलम्यानले १० ओभरमा ७१ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो । नामिबियाका विकेटकिपर जेन ग्रीनले ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७५ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त हुन सकेन ।

पिक्की या फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ४९ रनमा दुर्भाग्यपूर्ण रन आउट हुन पुगेका थिए । ४८ औं ओभरको पहिलो बलमा जेन ग्रीनले लागेको बल बलर सोमपाल कामीको हातमा लागेर नन स्ट्राइकमा लागेपछि रन आउट हुन पुगेका थिए ।

एक समय १३८–५ को अवस्थमा पुगेको नामिबियालाई छैटौं विकेटका लागि ग्रीन र फ्रान्सले ९४ रनको सानदार साझेदारी गरेका थिए । नामिबियाका ओपनर लो ह्यान्डरे लरेन्स ५४ बलमा ८ चौकासहित ४१ रनमा सन्दीप लामिछानेको बलमा बलमा बोल्ड आउट भएका थिए । सन्दीपकै बलमा ओपनर कार्ल ब्रिकेनस्टक २० रनमा फस्ट स्लिपमा ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए ।

सन्दीपले १५ औं ओभरको तेस्रो बलमा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । ओपनर कार्ल र ह्यान्डरेले १४.३ ओभरमा ६४ रनको साझेदारी गरेका थिए ।

२६ औं ओभरको अन्तिम बलमा माइकल भान लिंगेन २२ रनमा रन आउट हुन पुगेका थिए । सन्दीपले कप्तान जेरार्ड इरास्मसलाई १५ रनमा बोल्ड आउट गरेका थिए । जेन निकोल लोफ्टी करणको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर विकेटकिपर आसिफ शेखबाट १५ रनमा क्याच आउट भएका थिए ।

नेपालका स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए । नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पूरा गरेको थियो । नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

नेपालले अव लिग २ मा ९ खेल खेल्न बाँकी छ । घरेलु मैदानमा ५ र युएईमा चार खेल हुनेछन् । नेपाल शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्दै आडिआई मान्यता जोगाउन नेपालले ९ मध्य अव ६ खेल जित्नुपर्ने हुन्छ ।

अंक तालिका

स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

२०७९ फाल्गुन ६, शनिबार प्रकाशित 0 Minutes 378 Views

ताजा समाचार