२०८१ बैशाख १३ बिहीबार

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने

झापा । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो।

‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ यही फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गत माघ २४ गते बसेको बैठकबाट पारित कार्यक्रम मुताबिक विभिन्न कार्यक्रम गरी मनाउन अनुरोध छ’, सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ।

त्यस्तै, सबै सरकारी निकाय, प्रतिष्ठान, संघसंस्था, कार्यालयमा राष्ट्रिय झण्डा फहराउने तथा फागुन ६, ७ र ८ गते साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम छ।

सार्वजनिक निकाय र स्थलहरूको सरसफाइ गरी सम्भाव्य स्थानमा राष्ट्रिय झण्डा राखी सजावटसहित सौन्दर्यीकरण अभिवृद्धि गर्न पनि मन्त्रालयको परिपत्रमा उल्लेख छ।

सञ्चार माध्यमबाट राष्ट्रिय प्रजातन्त्र दिवससँग सम्बन्धित सन्देशमूलक कार्यक्रम प्रकाशित तथा प्रसारित गर्ने र दिवस केन्द्रित सांस्कृतिक, साहित्यिक, शैक्षिक क्षेत्र सम्बद्ध सृजनात्मक तथा रचनात्मक प्रतियोगिताका कार्यक्रम आयोजना गर्न पनि परिपत्र गरिएको छ।

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 0 Minutes 347 Views

ताजा समाचार