२०८१ बैशाख १४ शुक्रबार

राष्ट्रपतिमा सहमति जुट्न नसकेको अवस्थमा अन्य विकल्प पनि खुला राख्नुपर्नेमा साना दलको जोड

राष्ट्रपतिको निर्वाचनका लागि मुख्य रुपमा नेकपा एमाले र नेपाली कांग्रेस चुनावी मैदानमा छन् । तर माओवादी नेतृत्वले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएपछि यी दुबै राजनीतिक दलबाट राष्ट्रपति चयन हुने सम्भावना पातलिएको छ । एमाले र कांग्रेसका उम्मेद्वारमा राष्ट्रिय सहमति जुट्न नसकेको अवस्थमा अन्य विकल्प पनि खुला राख्नुपर्नेमा साना दलको जोड छ ।

राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु अन्तिम कसरतमा जुटेका छन् । सत्तारुढ दल नेकपा एमाले र माओवादी नेतृत्व बीच पटक–पटक छलफल भइरहको छ । तर मनोनयनको मिति नजिकिँदा समेत राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दलमा सहमति जुट्न सकेको छैन ।

नेकपा एमाले पूर्ववत् समझदारी अनुसार जसरी पनि आफूले राष्ट्रपति पाउनुपर्ने अडानमा छ । तर माओवादी नेतृत्व नेपाली कांग्रेसले समेत सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने भनिरहेको छ । पार्टीको स्थायी कमिटी बैठकले नै राष्ट्रपतिको चयन सहमतिका आधारमा गर्नुपर्ने निर्णय गरिसकेकाले एमालेले भने जस्तो पूर्ववत् समझदारी नगरिएको माओवादीको दाबी छ ।

राष्ट्रपतिमा मुख्य रुपमा नेकपा एमाले र नेपाली कांग्रेसको दाबी छ । तर यी दुबै पार्टीका उम्मेद्वारमा सहमति जुट्न नसकेको अवस्थामा कुनै राजनीतिक दलसँग आवद्ध नरहेको व्यक्तिलाई वा राजनीतिक दलमा आवद्ध हुँदा पनि विवादित छवि नबनाएका व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने आवाज पनि उठिरहेको छ । जसमा पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत केदारभक्त माथेमादेखि लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसम्मको चर्चा छ ।

राजनीतिक दलहरु राष्ट्रपति आफूले पाउनुपर्ने अडानमा रहेपनि उम्मेद्वारको टुंगो लगाउन सकिरहेका छैनन् । राष्ट्रपति कुन पार्टीबाट बन्ने भन्ने जुँगाको लडाइ चलिरहेका बेला स्वतन्त्र छविका व्यक्तिले राष्ट्रपतिमा बाजी मार्न सक्छन कि सक्दैनन् । त्यो भने समयले नै बताउने छ ।

 

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 1 Minute 370 Views

ताजा समाचार