२०८१ बैशाख ७ शुक्रबार

दीपेन्द्र र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्याण्डलाई हरायो

काठमाडौं। दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ । दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।

नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो । नेपालले लक्ष्य पछ्याउने क्रममा आक्रमक सुरुवात गर्दै २ ओभरमा ३१ रन जोडेको थियो । पहिलो ओभरमा कुशल भुर्तेलले ४ चौका प्रहार गर्दा नेपालले २३ रन जोडेको थियो ।

दोस्रो ओभरमा आसिफले २ चौकासहित ८ रन जोडे । तर तेस्रो ओभरमा नेपालले दुई विकेट गुमायो । कुशल भुर्तेल १६ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए । स्कटल्याण्डका क्रिस सोलले दुवै विकेट लिए ।

त्यसपछि आसिफ शेख पाँचौ ओभरमा ९ र कप्तान रोहित पौडेल नवौँ ओभरमा ६ रनमा आउट भए । आसिफललाई सोलले आउट गर्दा रोहितलाई मार्क वाटले आउट गरे ।
आक्रमक देखिएको नेपालले लगातार विकेट गुमाउने क्रम रोकिएन ।

११औ ओभरमा सन्दिप जोरा ५ रनमा आउट हुँदा नेपाल ७७-५ को नाजुक अवस्थामा पुगेको थियो । तर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले शतकिय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले ।

छैटौं विकेटका लागि यो जोडीले १०० रनको साझेदारी गरेपछि कुशल मल्ल आउट भए । उनलाई वाटले हम्जा ताहिरबाट क्याचआउट गराए । छैटौं विकेटका लागि ओडिआईमा नेपालको यो दोस्रो शतकिय साझेदारी हो । यसअघि गत जुनमा लिग टु मै अमेरिका विरुद्ध आरिफ सेख र सोमपाल कामीले १०६ रनको साझेदारी गरेका थिए ।

६७ बल खेलेका कुशल मल्लले ९ चौका र ४ छक्का मद्दतमा ८१ रन बनाए । ओडिआईमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि सन् २०२० फेब्रुअरीमा घरेलु मैदानमै भएको लिग टु मा उनले अमेरिका विरुद्ध ओडिआई डेब्यूमै अर्धशतक प्रहार गरेका थिए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले सात खेलपछि ओडिआईमा पहिलो अर्धशतक । उनले गत वर्ष नोभेम्बरमा घरेलु मैदानमा युएई विरुद्धको शृखंलाको पहिलो खेलमा ५४ रन बनाएका थिए । पछिल्लो समय ओडिआईमा रन बनाउन संघर्ष गरिरहेका दीपेन्द्रले लिग टु मा भने यो पहिलो अर्धशतक हो ।

कुशल मल्ल आउट भएपछि दीपेन्द्रले गुल्शन झा सँग मिलेर इनिङ्स अघि बढाए । दीपेन्द्र र गुल्शनले ४३ रनको साझेदारी गरे । गुल्शनले १७ रन जोडे । दीपेन्द्रले सोमपाल कामीसँग मिलेर नेपाललाई जितसम्म पुर्‍याए । यो जोडीले आठौं विकेटका लागि अविजित ५५ रनको साझेदारी गरे ।

सोमपालले ३२ बल खेल्दै ३ चौका मद्दतमा अविजित २४ रन बनाए । स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले ३-३ विकेट लिए । माइकल लिस्कले १ विकेट लिए ।

माइकल लिस्कको शतक

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदान माइकल लिस्को शतक मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनाएको थियो ।

खराब सुरुवात भएपनि सातौं नम्बरमा ब्याटिङ गरेका लिस्कले अन्तिमसम्म टिकेर ८५ बल खेल्दै ३ चौका र ९ छक्का मद्दतमा अविजित १०७ रन बनाए । स्पीनरहरु कुशल मल्ल, सन्दीप लामिछाने, कुशल भुर्तेलले लगातार विकेट लिँदा स्कटिस टोली सुरुमा दबाबमा परेको थियो ।

तर सातौं नम्बरमा ब्याटिङ गरेका अलराउण्डर लिस्कले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । स्कटल्याण्डले यसअघि नामिबिया विरुद्ध शतक बनाएका जर्ज मुन्सी, काएल कोएत्जर र सफ्यान सिरिलाई आरम दिँदै तोमस र ज्याक जर्भिसलाई डेब्यू गराएको थियो ।

सुरुवातमा रन बनाउन संघर्ष गरेपनि लिस्कले स्कटिस इनिङ्स सम्हाले । २४.२ ओभरमा १११-६ को अवस्थामा रहेको स्कटल्याण्डका लागि माइकल लिस्ट र ज्याक जर्भिसले ८१ रनको मद्तवपूर्ण साझेदारी गरे । यसै खेलबाट ओडिआईमा डेब्यू गरेका ज्याक जर्भिसले २६ रन बनाए ।

ओपनर क्रिस्टोफर म्याक ब्रिज र ब्रान्डन म्याकमुलेनले समान २२ तथा कप्तान रिची बेरिङटन र तोमस म्याकिन्सले समान १९ रन बनाए । क्रिस ग्रिभ्सले १६ रन जोडे ।
लिस्कले आठौं विकेटका लागि मार्क वाटसँग ७६ रनको साझेदारी गरे । वाटले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ९ ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन खर्चेर १ विकेट लिए ।

कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर समान १ विकेट लिए ।

यसअघि नामिविया विरुद्ध ५ विकेट लिएका करण केसीले स्कटल्याण्डविरुद्ध विकेट लिन सकेनन् । ९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ६८ रन खर्चिए ।

ललित राजवंशीको स्थानमा खेलेका गुल्शन झाले २ ओभर मात्र बलिङ गर्दा २१ रन खर्चिए ।

२०७९ फाल्गुन ५, शुक्रबार प्रकाशित 1 Minute 527 Views

ताजा समाचार