२०८१ बैशाख १४ शुक्रबार

चन्द्र भण्डारीलाई उपचारको लागि मुम्बई लैजाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी भएको छ ।

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी छ ।

स्वास्थ्य मन्त्री पदम गिरीले अस्पतालमा पुगेर नेता भण्डारी र चिकित्सकसँगको भेटपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको बताए ।

“उहाँ (चन्द्र भण्डारी) ले मान्नुभएको छैन । उहाँले यहीँ उपचार गर्नू भन्नुभएको छ तर चिकित्सकको सुझावका आधारमा हामीले भारतको मुम्बईमा उपचारका लागि लैजाने व्यवस्था मिलाएका छौँ,” उनले भने ।

उनका अनुसार अबको एक डेढ घण्टामा प्रक्रिया पूरा गरेर भण्डारीलाई भारत पठाइनेछ ।

गएराति काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा चन्द्र भण्डारी र उनकी आमाको शरीरमा आगो सल्किएको थियो ।

अस्पतालले सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सुझाव दिए पनि उनले भेटघाट गर्नेहरुसँग आफू उपचारका लागि अर्को मुलुक नजाने अडानमा थिए ।

तर कांग्रेस नेताहरुको दबाबपछि उनी तयार भएको पारिवारिक स्रोतले जानकारी दियो । विमानस्थलसम्म लैजान अहिले कीर्तिपुर अस्पतालमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

चन्द्र भण्डारी र आमा हरिकला भण्डारी दुवैको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

गएराति १० बजेतिर ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा दुवैजना घाइते भएका थिए ।

आमाको शरीरको ७० प्रतिशत भाग जलन भएको तथा छोरा चन्द्रको ३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार चन्द्रका दुवै हात, दुवै गोडा र अनुहार जलन भएको छभने आमाको जीउको अधिकांश भाग जलन भएको छ ।

दुवै जनाको स्वास नलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक संभावना रहेको अस्पतालका चिकित्सकद्वय डा. किरण नकर्मी र डा. निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

२०७९ फाल्गुन ४, बिहीबार प्रकाशित 0 Minutes 343 Views

ताजा समाचार