२०८१ बैशाख १५ शनिबार

ओपनर जर्ज मुन्सेको सानदार शतकको मद्दतमा स्कटल्याण्ड विजयी

आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओपनर जर्ज मुन्सेको सानदार शतकको मद्दतमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको १ सय ५४ रनको लक्ष्य स्कटल्याण्डले २२ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । स्कटल्याण्डका लागि मुन्सेले अविजित १ सय ३ र केली कोट्जरले अविजित ४६ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो । नामिबियाका लागि लोह्यान्डरी लोरेन्सले ५४, बेर्नाड स्कोल्टेजले ३०, जान ग्रिनले २५ र प्रिन्कि फ्रान्सले ११ रन बनाए ।

स्कट ल्याण्डका लागि मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३÷३ विकेट लिए । जितसँगै स्कटल्याण्डले सात टोली सहभागी विश्वकप लिग टू को उपाधि जितेको छ । स्कटल्याण्डले ३३ खेलमा ४८ अंक जोडेर शीर्ष स्थान हासिल गरेको हो ।

अन्य टोलीले बाकीँ सबै खेल जितेपनि स्कटल्याण्डलाई उछिन्न सक्ने छैनन् । ३२ खेलमा ३७ अंक जोडेको नामिबिया तेस्रो स्थानमा रहेको छ । सिरिजको पहिलो खेलमा नामिबियालाई २ विकेटले हराएको नेपालले दोस्रो खेलमा फागुन ५ गते स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको तेस्रो खेल फागुन ६ मा नामिबिया र अन्तिम खेल फागुन ९ गते स्कटल्याण्डसँग हुनेछ ।

 

२०७९ फाल्गुन ३, बुधबार प्रकाशित 1 Minute 136 Views

ताजा समाचार