२०८१ बैशाख १४ शुक्रबार

नामिबियालाई हराएपछि कप्तान रोहितको प्रतिक्रिया– आज इतिहास बन्यो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज नामिबियाविरुद्ध दुई विकेटको जित निकाल्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर भेटायो ।

नामिबियाविरुद्ध निकालेको यो जित नेपाली क्रिकेट टिमले अहिलेसम्म भेटाएको सबैभन्दा ठूलो लक्ष्य थियो ।

आजबाट सुरु भएको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाललाई ऐतिहासिक जित दिलाउन ओपनर कुशल भुर्तेलले ११५ रन बनाए । कुशललाई अर्कोतर्फबाट बलियो साथ दिएका कप्तान रोहितकुमार पौडेलले ७२ रन बनाए ।

नामिबियाविरुद्ध ऐतिहासिक जित निकालेपछि नेपाली टिमका कप्तान रोहितले टिमले इतिहास बनाउन सकेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।

“आज इतिहास कायम भयो । किनभने योभन्दा अघि यति ठुलो रनको लक्ष्य भेटाउन सकिएको थिएन । एक टिमको रूपमा हामी सबै खुसी छौँ । यो जितबाट हामीले लय समात्नुपर्ने हुन्छ,” रोहितले भने, “पहिलो खेलमा २८६ को लक्ष्य भेटाउनु आउँदो तीन खेलको लागि बुस्टर हो । प्रशिक्षकले स्वतन्त्र भएर खेल भन्नुहुन्छ । पहिलो इनिङ सकिएपछि प्रशिक्षकले तनाव नलिन आग्रह गर्नुभयो र लक्ष्य भेटाउन सक्छौँ भन्ने भरोसा दिनुभयो । यसैका परिणाम आजको नतिजा हो ।”

एक दिवसीय क्रिकेटमा एकहजार रन बनाउने पहिलो नेपाली खेलाडी बन्दाको अनुभव कस्तो छ ? भन्ने प्रश्नमा उनले गर्विलो महसुस भइरहेको प्रतिक्रिया दिए ।

“यो कीर्तिमान बनाउँन पाउँदा निकै खुसी छु । ब्याटिङमा एकदमै आत्मविश्वासी महसुस गरिरहेको छु । यही लयलाई निरन्तरता दिने मानसिकता बनाएको छु । एकहजार रन पूरा गर्न पाउनु गर्विलो क्षण हो,” उनले भने ।

एकहजार पूरा हुँदै गर्दा करियरको अन्तिमसम्म कति रन बनाउने लक्ष्य छ ? भन्ने प्रश्नमा रोहितले हाँस्दै त्यसबारे आफूले लक्ष्य निश्चित गरेपनि अहिले नै खुलाउन नमिल्ने बताए ।

उनले नामिबियाविरुद्ध कुशल भुर्तेलले बनाएको शतक असाधारण भएको बताए ।

“असाधारण । जुन तरिकाले उनले आफूलाई प्रस्तुत गरे । शतक पूरा गरेर पनि धैर्यसाथ खेलिरहनुभएको थियो । मैले कुशल दाइलाई चार, पाँच वर्षदेखि देखिरहेको छु । उहाँले जुन मेहनत गरिरहेको थियो, त्यसैको परिणाम आजको इनिङ हो ।”

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित 0 Minutes 273 Views

ताजा समाचार