झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन- २ मा हुने उपनिर्वाचनमा सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने भएको छ । ‘उहाँ नै उम्मेदवार हुने हो । उचित समयमा पार्टीले निर्णय गर्छ,’ सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने । उनका अनुसार चुनावी अभियानका लागि संयोजक तोक्ने तयारी छ ।
‘प्रचारप्रसारका लागि संयोजक तोक्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने । सभापति लामिछानेले पनि चितवन पुगेर चुनावी अभियान सुरु गरेका छन् । शनिबार उनले चितवनमा विभिन्न कार्यक्रममा सहभागी र मतदातासँग छलफल गरेका छन् ।
निर्वाचन आयोगले आगामी १० वैशाखका लागि चुनावको मिति घोषणा गरिसकेको छ । २० चैतमा उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारविरुद्ध उजुरी र २२ गते उजुरीमाथि निर्णय गरी २३ गते निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ ।
गत ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नै विजयी भएका थिए । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि उक्त क्षेत्रमा उपनिर्वाचन गर्न हुन लागेको हो ।