२०८१ बैशाख १५ शनिबार

आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनका लागी बिर्तामोड अन्तर्राष्ट्रिय महोत्सव

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्वरका उपाध्यक्ष चण्डीराज ढकालले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले उत्पादक र उपभोक्तालाई जोड्ने बताएका छन् ।

बिर्तामोडमा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व अध्यक्ष ढकालले महोत्सवले प्रदेश १ मा उत्पादन हुने कृषिजन्य वस्तुहरुको प्रवद्र्धन गर्नुका साथै भारत , बंगलादेश र पाकिस्तानबाट आएका वस्तु सिधै नेपाली उपभोक्तासम्म पुग्ने सुनौलो अवसर भएको बताए ।

महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गर्नुका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाई छ ।

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव फागुन ५ देखि १५ गतेसम्म बिर्तामोड २ स्थित प्रभुराम चौक उत्तर खुल्ला मैदानमा सञ्चालन हुँदैछ ।

हालसम्म एक सय ५० वटा स्टल बुक भइसकेको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा दुई सय स्टलहरु रहने बताइएको छ ।

महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ भने झण्डै ४५ करोड रुपैयाँ बरावरको आर्थिक कारोवार हुने महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

महोत्सवलाई चार भागमा विभाजन गरिएको छ । प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यम तथा मनोरञ्जन क्षेत्र र खानपिन क्षेत्र छुट्याइएको महोत्सव मूल आयोजक समितिका सचिव कुशल खतिवडाले बताए ।
महोत्सवमा अन्तर्राष्ट्रिय औद्योगिक उपकरण , कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरु, हस्तकला तथा तयारी पोशाक प्रदर्शनमा रहने बताइएको छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत सहभागिता रहने बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । महोत्सवलाई सभ्य र भब्य बनाउन सबै तयारी गरिएको बताइएको छ ।

प्रदेश १ को कृषि , पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत विकसित र सुगम स्थलका रुपमा रहेको बिर्तामोडमा शुरु हुन लागेको महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले बताए ।

महोत्सवको उद्घाटनमा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य रहने बताइएको छ । महोत्सव स्थलको मुख्य प्रवेशद्वार तथा स्टलहरु जर्मन प्रविधिमा निर्माण गरिने भएको छ भने मुख्य प्रायोजकका रुपमा एनसेल एक्सिएटा लिमिटेड रहने जनाइएको छ ।

यसअघि २०७५ सालमा सञ्चालन भएको महोत्सवको सफलतासंगै यस पटक पनि बिर्तामोड उद्योग बाणिज्य संघले अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकाल, महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, प्रायोजक एनसेलका प्रदेश प्रमुख प्रज्वल अधिकारी, महोत्सवका व्यवस्थापक ललित सिम्खडासहित उद्योगी व्यवसायीहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसैबीच मोहोत्सव सञ्चालनमा सुरक्षा प्रवन्ध व्यवस्थित गर्ने सन्दर्भमा सोमवार साँझ सुरक्षा प्रमुखहरुसंग आयोजक समितिले अन्तरक्रिया गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी उपरीक्षक समेतको उपस्थितिमा भएको छलफलमा सुरक्षाको प्रत्याभूति र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

छलफलमा जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सुरज कार्की, सशस्त्र प्रहरी वेस क्याम्प शनिश्चरेका प्रहरी नायव उपरीक्षक उदय न्यौपाने, जिल्ला ट्राफिक प्रहरी प्रमुख अशोक जवेगूसहित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

२०७९ फाल्गुन १, सोमबार प्रकाशित 0 Minutes 236 Views

ताजा समाचार