मेचीनगर । प्रदेश १ का सांसद गोपाल तामाङले अबको चार वर्षमा देखिने गरिको एउटा राम्रो काम भएपनि गर्न सुझाव दिएका छन्।
आइतबार मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाकोे दोस्रो वैठकको प्रमुख अतिथिको रुपमा बोल्दै सांसद तामाङले नगरपालिका जनसंख्याको हिसाबले देशकै ठुलो र बजेट पनि ठूलै भएपनि सेवाग्राहीको काममा भने ढिलासुस्ती हुने गरेको बताए ।
‘यहाँका सबै दलहरुले नगरपालिकासँग हातेमालो गरिरहेकोे अवस्था छ’, सांसद तामाङले भने-‘दलहरुबाट कुनै छेकवार छैन । तर जनप्रतिनिधि र कर्मचारीको कारण सेवग्राहीहरुले समस्या भोग्नु नपरोस् ।’
कार्यक्रमकी विशिष्ठ अतिथि प्रदेश १ की सांसद सबिना बजगाईले नगरपालिकालाई आफुले सक्ने सहयोग गर्ने बताइन् ।
कार्यक्रममा नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, राप्रपा मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बैठकको अध्यक्षता गरेका मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सभा, कार्यक्रम उद्घाटन गरेर यसै ५ वर्ष बित्ने भएको बताए ।
‘सभा, समारोहमा वडाध्यक्षहरुलाई बोलाउनुहोस्,’ नगरप्रमुख बुढाथोकीले भने -‘हामीलाई (नगरप्रमुख, उपप्रमुख) काम गर्न दिनुहोस् । नगरपालिकाको सबै कार्य नीतिगत रुपमा हुन्छ । हामी नयाँ काम गर्छौँ । अब नयाँ योजना ल्याएर विधि स्थापित गर्छौँ ।
कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरु, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर अध्यक्ष भिमबहादुर कुँवरलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको स्वागत उपमेयर मीना पोखरेल उप्रेतीले र सञ्चालन वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।