२०८३ जेष्ठ २१ बिहीबार

निर्वाचन सफल बनाउन राष्ट्रिय संवाद आवश्यक

नेपाली कांग्रेसका नेता नैनसिंह महर

काठमाडौं, असोज १२ गते । नेपाली कांग्रेसका नेता नैनसिंह महरले फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउन राष्ट्रिय संवादको आयोजना गर्नुपर्ने बताउनु भएको छ।

स्कुल अफ डेमोक्रेसीले राजधानीमा आयोजना गरेको ‘वर्तमान संकट र समाधान’ विषयक कार्यक्रममा बोल्दै नेता महरले भन्नुभयो, ‘‘लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ राजनीतिक दलहरू नै भएकाले राष्ट्रपतिले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै राजनीतिक दललाई समावेश गरेर राष्ट्रिय संवादको आयोजना गर्नुपर्ने र फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण निर्माण गर्नु आवश्यक छ ।’’

उहाँले मुलुकको वर्तमान संकट समाधानका लागि राष्ट्रिय संवाद अपरिहार्य रहेको बताउनु भएको छ ।

नेता महरले अन्योलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न पहिलो कार्य भनेको निर्वाचनको माध्यमबाट नयाँ जनमत लिनुपर्ने नै हो र अर्को विकल्प भनेको संसद पुनःस्थापना गरेर संविधानलाई सही मार्गमा ल्याउन सकिने विचार पनि व्यक्त गर्नुभयो ।

उहाँले देशमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक मन्दी र संस्थागत भ्रष्टाचारले नागरिकमा गहिरो निराशा छाएको उल्लेख गर्दै एकातिर लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य छन्, अर्कोतिर महँगी र आर्थिक संकटले आम नागरिकको जीवनयापन कष्टकर बनेको उल्लेख गर्नुभयो ।

उहाँले हालै देखिएको युवा आक्रोश र सडक प्रदर्शनहरूले पनि राजनीतिक नेतृत्वलाई गम्भीर हुन सचेत गराएको बताउनु भयो।

महरले जनतामा गुमेको आत्मविश्वास जगाउन र राष्ट्र पुनर्निर्माणको अभियान थाल्न जनजी युवा पुस्ताले खोजेको सुशासन स्थापनाका लागि भ्रष्टाचारविरुद्धको अभियान थाल्नुपर्नेमा जोड दिनुभयो ।गोरखापत्र अनलाइन

 

 

२०८२ आश्विन १२, आईतवार प्रकाशित 1 Minute 131 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।