२०८१ बैशाख १४ शुक्रबार

लोकतन्त्र र संघीयता कार्यान्वयनमा जोड

बिर्तामोड । बिर्तामोडमा लोकतन्त्र संवाद तथा नागरिक शिक्षा विषयक् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पूर्व मन्त्री, नागरिक समाज, अधिकारकर्मी, वुद्धिजीवी, पेशाकर्मीसहितको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

अन्तक्र्रियामा लोकतन्त्र सवलीकरण, सामाजिक न्याय, संघीयता र विकासको प्रभावकारिताका विषयमा तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रहरुमाथि जिल्लाका राजनीतिक दलका प्रमुखहरुले टिप्पणीसहित धारणा तथा सहभागीहरुले जिज्ञासा र सुझाव राखेका थिए । कार्यपत्र प्रस्तुत गर्ने विज्ञहरुले लोकतन्त्रमा समान हक अधिकार, समता, संविधानले प्रत्याभूत गरेअनुसार राज्य प्रणाली र शासन व्यवस्थामा आम नागरिकको पहुँचलगायत विषयमा जोड दिएका थिए ।

उनीहरुले संघीयता कार्यान्वयन नै लोकतन्त्रको मेरुदण्ड भएको बताएका थिए । कार्यक्रममा नेपाल ल क्याम्पसका प्राध्यापक गणेश दत्त भट्ट, संघीयता विज्ञ डा.विनय मिश्र र सर्वोच्च अदालतका अधिकृत रञ्जना विश्वकर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । पीइएस नेपालको आयोजना तथा संवाद समूह झापाको संयोजनमा सम्पन्न कार्यक्रममा एमाले झापाका अध्यक्ष दीपक कार्की, कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाई, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव प्रकाश पाठक, राप्रपाका कुमार थापा, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राई, लोसपका अध्यक्ष अनुतसिंह राजवंशी, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष पर्शुराम मगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष नगेन राईलगायतले प्रस्तुत कार्यपत्रमाथि टिप्पणीसहित धारणा राखेका थिए ।

कार्यक्रममा लोकतन्त्र र संघीयताका विषयमा मानव अधिकारकर्मी, आदिवासी जनजाति, जातीय संस्थाका प्रमुख, नागरिक समाज, प्राध्यापक, शिक्षक, राजवंशी, सन्थाल, मधेसी, दलित, अपांगता भएका, यौनिक तथा लैंङ्गिक अल्पसंख्यक, उद्योग वाणिज्य संघ, निजी क्षेत्र, बाल सञ्जाल, महिला अधिकारकर्मी, ट्रेड युनियन सम्वद्ध संघसंस्थालगायतका प्रमुख तथा प्रतिनिधिले विज्ञहरुलाई जिज्ञासा र सुझाव राखेका थिए ।

अन्तक्र्रियामा पीईएस नेपालका तर्फबाट जर्मन नागरिक जोनाथन मेङ्गे र चन्द्रदेव भट्टले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण संवाद समूहबाट एकराज गिरीले गरेका थिए ।

२०७९ माघ २८, शनिबार प्रकाशित 0 Minutes 236 Views

ताजा समाचार