२०८३ जेष्ठ २१ बिहीबार

नवीन साझेदारीमा नेपाल र भियतनाम

उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबिच आइतबार प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुँदै । तस्बिर : सुजन गुरुङ

अशाेक अधिकारी

काठमाडौँ, भदौ ९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबिच हवाईसेवा, लगानी एवं सूचना प्रविधिसहितका विषयमा द्विपक्षीय साझेदारी गर्ने सन्दर्भमा परामर्श भएको छ । उपराष्ट्रपति यादव र तीनदिने औपचारिक भ्रमणमा आउनुभएकी भियतनामका उपराष्ट्रपति सुआनबिच आइतबार सम्पन्न प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा दुवै देशबिच नवीन साझेदारीको अध्याय प्रारम्भ गर्ने समझदारी भएको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार नेपाल र भियतनामबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा नेपाल आउनुभएकी उपराष्ट्रपति सुआनबिच मुख्य सात विषयमा कुराकानी भएको छ । प्रवक्ता पौडेलले भन्नुभयो, “नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मै भियतनामको भ्रमण गर्नुभएको थियो तर भियतनामका तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण हो । त्यसैले यो भ्रमण महत्वपूर्ण छ । साथै दुई देशका उपराष्ट्रपतिबिचको भेटवार्तामा द्विपक्षीय सम्बन्ध बलियो बनाउने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धका विविध आयामबारे संवाद भएको छ ।”

हवाईसेवा र लगानीबारे छलफल

उपराष्ट्रपति यादव र भियतनामका उपराष्ट्रपति सुआनबिचको प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा पर्यटन प्रवर्धन, आर्थिक विकास र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको छ । प्रवक्ता पौडेलका अनुसार भियतनाम बौद्ध धर्मावलम्बी बहुल राष्ट्र भएकाले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई सहज आवतजावतको व्यवस्था मिलाउने विषयमा छलफल भएको छ । उहाँले भन्नुभयो, “पर्यटन प्रवर्धनका लागि नेपाल र भियतनामबिच सिधा हवाई उडान सुरु गर्ने विषयमा विमर्श भएको छ । अहिले सिधा उडान छैन, सिधा उडान भएमा दुवै देशको पर्यटन प्रवर्धनमा सहयोग पुग्छ भन्ने छलफलको निष्कर्ष हो ।”

व्यापार सम्झौताबारे चासो

उपराष्ट्रपति यादव र भियतनामका उपराष्ट्रपति सुआनबिचको भेटवार्तामा भियतनामको प्रतिनिधिमण्डलले व्यापार एवं लगानीसम्बन्धी सम्झौता चाँडै गर्नुपर्नेमा जोड दिएको छ ।

प्रवक्ता पौडेलले लगानी सुनिश्चित गर्ने, डिजिटल प्रविधिमा साझेदारी गर्ने तथा व्यापार तथा लगानीको विषय अघि बढाउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक रूपमा उदाउँदो राष्ट्र हो भियतनाम । व्यापारसँगै विकासको गति लिइसकेको देश हो । भियतनामको विकास, उन्नति, प्रगतिका अनुभवबारे छलफल भयो । साथै भियतनामको प्रतिनिधिमण्डलले लगानी र व्यापार सम्झौता चाँडै होस् भन्ने चाहना व्यक्त गरेको छ ।” उहाँका अनुसार उच्चस्तरीय भेटवार्तामा जनता–जनताबिचको सम्बन्ध विकास गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा साझेदारी गर्ने तथा दुवै मुलुकबिचको मित्रवत् सम्बन्ध र सार्वभौमिक पक्षको सम्मानमा आधारित रही अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने विषयमा पनि संवाद भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा नन अलाइन्मेन्ट मुभमेन्ट (नाम) का सदस्य राष्ट्रका रूपमा नेपाल र भियतनामबिच शान्ति स्थापना र विकासमा सहकार्य गर्ने सन्दर्भमा पनि परामर्श भएको छ ।

कूटनीतिक सम्बन्ध बलियो बनाइने

प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका उपराष्ट्रपति सुआनबिच दुई देशबिचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने सन्दर्भमा विमर्श भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न भेटवार्तामा दुई देशबिच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा परामर्श भएको हो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उहाँहरूबिच दुई देशबिच सरकार–सरकार, व्यवसायी–व्यवसायी र जनता–जनताबिचको सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको छ । उहाँहरूबिच कूटनीतिक र सांस्कृतिक क्षेत्रको सम्बन्धलाई अझ बलियो बनाउने सन्दर्भमा पनि छलफल भएको छ ।

यसै गरी आइतबारै नेपाल र भियतनामको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सकका अवसरमा विशेष समारोहको आयोजना गरियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । साथै उहाँले पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ मन्दिर एवं प्राचीन सम्पदा अवलोकन गरी सोमबार स्वदेश फर्किनुहुने छ ।गोरखापत्र दैनिकमा खबर छ ।

२०८२ भाद्र ९, सोमबार प्रकाशित 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।