२०८१ बैशाख १४ शुक्रबार

नेकपा (एमाले) सचिवालय बैठकको निर्णय:दुई महिने विशेष अभियान सञ्चालन गर्ने

 

नेकपा (एमाले) ले संगठनात्मक सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । ‘मिसन ग्रासरुट’ नाम दिईएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताउनु भयो । सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उहाँले बताउनु भयो । केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उहाँले उल्लेख गर्नुभयो । सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टीमा वैचारिक, संगठनात्मक सुदृढीकरण र विस्तारका लागि आगामी फागुन र चैत्र दुई महिना विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ । मिशन ग्रासरुट अर्थात पार्टीको जगै देखि पार्टीलाई मजबुत गर्ने उद्देश्यका साथ यो अभियान दुई महिना सञ्चालन हुनेछ । दुई महिनाभर हाम्रो पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहरु विभिन्न पालिकाहरुमा खट्नुहुनेछ । उहाँहरुलाई ११ वटा कामहरु तोकिएको छ । पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा कार्यादेश तोकेर उहाँहरुलाई पठाएका छौँ । विधिवत थालनी फागुन ५ गते सातै प्रदेशमा अभिमुखिकरण कार्यक्रमबाट शुरु हुनेछ । सातै प्रदेशमा एक÷एक उपाध्यक्ष जानुहुन्छ ।’

बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिएको छ । त्यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शिला यादवलाई दिएको छ भने अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी डा. विन्दा पाण्डेलाई दिएको छ । त्यसैगरी पार्टीको अपांगता क्षेत्र हेर्ने जिम्मेवारी पार्वत गुरुङलाई दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।सञ्चारकर्मीहरुको जिज्ञासको जवाफ दिँदै उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने कोशिस जारी रहेको बताउनु भयो । उहाँले पूर्वसहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा जोड दिनुभयो । त्यस्तै जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोशिस जारी भएको उहाँले बताउनु भयो । फरक फरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिनसक्ने भन्दै ती असमझदारीहरुलाई समाधान गर्न सकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने परिस्थिति हुनु निश्चय नै दुखद् विषय हो । यसमा समिक्षा हुँदै गर्ला । बाहिर देखिने कारण त्यो पार्टीका सभापति रवि लामिछानेजीले नागरिकता पुनःप्राप्तिको सन्दर्भमा केही प्रक्रियागत त्रुटीहरु गर्नुभएको कारणले उहाँले पद रिक्त हुन गयो । त्यसले उत्पन्न भएको समस्या देखिन्छ । तरपनि हामीले पुस १० गते यो नयाँ कोर्ष निर्माण गरिरहँदा र पछि मन्त्रिमण्डल बिस्तार गरिरहँदाखेरी जुन ढंगले शक्तिको बाँडफाँट गरेका थियौँ, त्यस हिसावले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिइनुपथ्र्यो भन्ने हामीलाई लाग्छ । त्यसो गरेर भएपनि उहाँहरुलाई सरकारमा होल्ड गरिराख्नुपथ्र्यो । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो उहाँहरुको कुरा थियो । त्यसमा अलिकति असमझदारी देखियो ।

त्यसलाई आधार बनाएर उहाँहरु बाहिरिनुभएको छ । तर बाहिरिए पनि उहाँहरुको भनाई छ, सरकारलाई दिएको विश्वास, समर्थन कायम नै छ । हाम्रो तर्फबाट उहाँहरुलाई त्यो विश्वासमा कायमै राख्ने र एउटा उपयुक्त वातावरण बनाएर सरकारमा फर्काउने हाम्रो कोशिस जारी छ । अहिले सरकारभन्दा बाहिर रहनुभएका जसपा र नागरिक उन्मुक्तिलाई पनि उहाँहरुका कतिपय कन्सर्नहरुलाई सम्बोधन गर्दै सरकारमा ल्याउने प्रयास जारी छ । भिन्नभिन्न दलहरुको बीचमा बनेको गठबन्धन भएको हुनाले कतिपय प्रश्नहरुमा असझदारी उत्पन्न हुनु अनौठो होइन । तर त्यसलाई समाधान गर्ने प्रयास जारी छ । त्यसो गर्न सकिन्छ भन्ने हाम्रो विश्वास पनि छ ।’ उपमहासचिव ज्ञवालीले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निस्कर्ष निकालेको पनि स्पष्ट पार्नुभयो । एमालेले गठबन्धन टिकाउने संकल्प गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

 

२०७९ माघ २६, बिहीबार प्रकाशित 1 Minute 234 Views

ताजा समाचार