पचास शैयाको प्रादेशिक अस्पताल पाल्पाको रामपुर अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । २०७२ मा स्तरोन्नति भए पनि भवन समय मै सम्पन्न नहुँदा तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रको भवन बाट सेवा दिदै आएको अस्पतालले शल्यक्रिया सहितको सेवा थप गर्दै गएको छ ।सरकारी अस्पताललाई रेफरको सेन्टरको रुपमा मात्र लिदै आए पनि रामपुर अस्पतालले भने एक पछि अर्को सेवा थप गर्दै गएको छ । अस्पतालले केही दिन अघि गण्डकीवेशी क्षेत्र मै पहिलो पटक एपेन्डिसाइटिस र हर्नियाको पनि सफल शल्यक्रिया गरेको हो । चिकित्सक सुनिल कुमार दासको नेतृत्वमा अस्पतालका चिकित्सकहरुले रामपुर ५ कोइलाटारीका २१ वर्षिय सरला रेग्मी अधिकारीको एपेन्डिसाइटिस सफलता पूर्वक शल्यक्रिया गरेका हुन । घर पायकमै राम्रो उपचार पाएपछि विरामीका आफन्त खुसी भएका छन ।
अस्पताल मै अन्य अप्रेसन सहितको सेवा प्राप्त भएपछि सेवाग्राही खुसी भएका छन् । प्राय जसो विरामीहरु रेफरको लागि मात्र अस्पताल आउने र बाहिर जाने अवस्था रहेकोमा अहिले अस्पतालको सिमित स्रोत र साधन मार्फत एपेन्डिसाइटिस र हर्नियाको शल्यक्रिया सफल गरिएको हो । अस्पतालमा आउने विरामीलाई कसरी हुन्छ यही बाट सेवा दिन तप्पर रहेको चिकित्सकहरु बताउँछन् ।
शल्यक्रिया मार्फत गरिने प्रसुति सेवाको लागि अन्यत्र जानु पर्ने अवस्था रहेकोमा २०७७ देखि निरन्तर सेवा प्रदान गर्दै आएको छ । अस्पतालले हाल सम्म शल्यक्रिया मार्फत प्रसुति सेवा ४३ जनालाई सफलताका साथ प्रदान गरिएको र अब बहुविशेषज्ञ सेवा तर्फ लागि परेको जनाएको छ ।अप्रेसन सहितको सुविधालाई नियमित सञ्चालन गर्नका लागि चिकित्सकहरुको व्यवस्थापन गरिएको अस्पतालले बताएको छ । समयमा भवन सम्पन्न हुने वित्तिकै विशेषज्ञ सहितको सेवा थाल्ने तयारी गरिएको छ ।
हाल अस्पालमा २४ सै घण्टा आकस्मिक सेवा र दैनिक बहिरंग सेवा सञ्चालन हुँदै आएको छ । कालीगण्डकी करिडोरको आडमै रहेको अस्पतालले सेवा विस्तार गर्न सके पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका बासिन्दा समेत लाभान्वित हुनेछन ।