
फाइल तस्बिर
अशाेक अधिकारी

काठमाडौँ, जेठ ३१ गते । काठमाडौँ उपत्यकावासीले सहरी बाढीको प्रताडना भोग्न सुरु गरेको झन्डै एक दशक भइसकेको छ । बर्खा याममा परेको पानीको निकास नहुँदा, खोला, नदीको बहाब क्षेत्र मिचेर संरचना निर्माण गर्दा र परेको पानी सिधै खोलामा मिसिएपछि ‘सहरी बाढी’ ले खोलाकिनार र आसपासका बस्ती डुबानमा पर्ने गरेका छन् ।
दुई दशकअघिसम्म पनि बागमती नदीसहित सहायक खोला किनारछेउमा खेतबारी थियो । उपत्यकाका धेरै फाँटहरू साउने झरीमा रुझ्दै स्थानीयवासी रोपाइँमा जुट्दा मनोरम देखिन्थ्यो तर काठमाडौँ उपत्यकाको दृश्य यति चाँडै बदलियो कि धान खेती हुने मनमोहक फाँटमा अहिले घरैघर निर्माण भएका छन् ।
बस्ती विकासको नवीनतम र वैज्ञानिक अवधारणा निर्माण नगरी बस्ती विस्तार गर्दा काठमाडौँ उपत्यकामा बाढी प्रकोपसहित अरू समस्या देखिएका छन् । बर्खा याम सुरु हुनासाथ काठमाडौँ, भक्तपुर र ललितपुरका नदीखोला किनारका बस्तीवासीहरू ‘पोहोर जसोतसो ज्यान जोगाइयो, यस पालि के होला !’ भन्ने चिन्तामा छन् ।
चोभारै चेपुवामा
काठमाडौँ उपत्यकाका खोलानदीको निकास चोभारको गल्छीबाटै हुन्छ तर २०८१ असोज १० देखि १३ गतेसम्मको भीषण वर्षा र बाढीपछि ललितपुरतर्फबाट चट्टान, रोडा, बालुवाले चोभारस्थित गल्छीको केही क्षेत्र अवरुद्ध छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार स्थानीय तह, सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित टोलीको अनुगमनमा चोभारको गल्छीमा बालुवा, ढुङ्गा र गिट्टी थुप्रिएर साँघुरो भएको छ ।
उहाँले भन्नुभयो, “चोभारको गल्छीका ढुङ्गा सफाइ गर्ने हो । पूरै काट्ने भनेको होइन । पहिरोले पनि ढुङ्गा थुपारेको छ । गल्छी साँघुरो भएको हो, होइन र सहरी बाढीको सन्दर्भमा सहरी विकास मन्त्रालयले अध्ययन गर्छ । सेनाले पनि अध्ययन गर्छ । त्यसपछि निर्णय हुन्छ । अहिले सफाइ नगर्दा बाढीको समस्या हुने सम्भावना रहन सक्छ ।”
कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) ले ऐतिहासिक तथ्य जोडिएको चोभार गल्छी विस्तार गर्ने वा खोल्ने विषय पुरातात्त्विक अध्ययनबिना सम्भव नहुने बताउनुभयो । उहाँले कीर्तिपुरतर्फ पहिरो गएर पुरिएको र चट्टान बसेको प्राधिकरणको दाबी अध्ययनबिनै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुवैतर्फ चट्टानी भाग छ । पहिरो जाने सम्भावना छैन तर सफाइ गर्ने सन्दर्भमा स्थानीय तहको स्वीकृति लिनु पर्छ । यस विषयमा दीर्घकालीन अध्ययन हुनु पर्छ ।”
बस्ती खोलामा पसेको हो : विज्ञ
काठमाडौँमा खोला मिचेर बस्ती विस्तार हुँदा बर्सेनि बाढीको बबन्डर सहँदै आएको क्षेत्र हो– कपन तर बुढानीलकण्ठ वडा नम्बर १०, ११ र १२ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ को पानीको स्रोत यज्ञमती र चखुँचा खोला खुला गरिएपछि त्यस क्षेत्रमा बाढीको वितण्डा केही कम भएको छ । जलस्रोतविज्ञ दीपक ज्ञवाली र भौगर्भिक प्रकोपविज्ञ श्रीकमल द्विवेदीले काठमाडौँका खोला र नदीलाई साविककै बहाब क्षेत्र कायम राखेर बग्न नदिए बाढी र डुबानको समस्या अझै बढ्ने चेतावनी दिनुभयो । पूर्वजलस्रोतमन्त्री ज्ञवालीले भन्नुभयो, “खोला बस्तीमा पसेको होइन, बस्ती खोलामा पसेको हो । खोलाको बाटो खुम्च्याइदिएपछि पानी उर्लिंदै आउँछ । पहिले खेती गरेर भूमिगत पानी सिञ्चित हुन्थ्यो । अहिले त्यो सबै एकै पटक खोला नदीमा सोझिने भयो । खोला र ढलमा प्रदूषित सामग्री, प्लास्टिक आदि सबै हाल्ने गरेका छन् । खोला अवरोध हुने नै भयो । कारण हामी नै हो ।”
उहाँले खोलालाई बहाब क्षेत्र दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष उस्तै खालको बाढी आउँदैन । पाँच सय वर्षमा एक पटक आउने बाढी छुट्टै प्रकृतिको हुन्छ । त्यस खालको बाढी यसै पटक पनि आउन सक्छ । त्यसले त आफ्नो स्वरूप देखाउँछ । खोला मिच्नेहरूले नै राजनीतिक प्रणाली चलेको भान हुन्छ । जग्गा प्लटिङ गर्नेलाई राजनीतिक संरक्षण छ । त्यसैले प्रणालीगत सुधार गरी मिचेका खोलालाई खुला आकाशमुनि र साबिककै बहाब क्षेत्रमा बग्न दिनु पर्छ ।”
भौगर्भिक प्रकोपविज्ञ द्विवेदीले गत असोजको वर्षाका विभिन्न आयाम रहेको बताउँदै काठमाडौँ उपत्यकामा धेरै खेतबारी रहेको बेला बाढीको प्रकोप कल्पना नगरिए पनि अहिले सहरीकरणको परिणामस्वरूप सहरी बाढीको समस्या सिर्जित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कति प्रतिशत पानी पर्दा कति बग्यो र कति जमिनमा सोसियो भन्ने कुरा हुन्छ । कङक्रिटले सोस्दैन । सहरीकरण बढ्दै गएपछि सोस्ने पानीभन्दा बग्ने पानी बढ्दै गयो । छतबाट ढलमा र ढलबाट सिधै खोलामा पुग्ने भयो । पहिले बगर भएको ठाउँमा अहिले घर छन् । खोला छेक्न अग्ला अग्ला पर्खाल बनाएर बहाब क्षेत्र साँघुरा भएका छन् । पुलहरू सङ्कुचन गरिएको छ । समस्या यही हो ।”
उहाँले बहाबमार्गमा एकतिहाइ अतिक्रमण भइसकेको बताउँदै नदी किनारमा पार्क वा अस्थायी किसिमका पानी सिञ्चित हुने संरचना बनाउन सुझाव दिनुभयो । उहाँले टेकुदेखि तल्लो क्षेत्रमा नदीको बहाब क्षेत्र निश्चित भइसकेको तथ्यलाई दृष्टिगत गर्दै माथिल्लो क्षेत्रमा पनि संरचना निर्माण गर्ने कार्य तीव्र भइरहँदा बाढीको सम्भावित जोखिमलाई ध्यान दिन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “उपत्यकाका सबै पालिकाको बृहत् अध्ययन गर्नु पर्छ । चोभारमा खोतलेर मात्रै हुँदैन । पहिरो हटाएर मात्रै हुँदैन । गेग्य्रान नियन्त्रणका लागि पानी पठाउने वैकल्पिक मार्ग बनाउनु पर्छ । पानीलाई केही क्षण रोक्ने अनि छोड्ने किसिमको संरचना बनाउनु पर्छ । ट्याङ्कीमा राख्ने र पानी पुनर्भरण गर्ने र सोझै बग्ने पानीलाई नियन्त्रण गर्ने अरू देशका सहरको अभ्यासलाई पनि अवलम्बन गर्न सकिन्छ ।”आजको गोरखापत्र दैनिकमा खबर छ ।