
काठमाडौँ, जेठ २८ गते । आमाको नामबाट पनि नागरिकता लिन पाउने व्यवस्थासहित प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । नेपालको संविधान र सर्वोच्च अदालतले विभिन्न मुद्दामा आमाको नामबाट नागरिकता दिन आदेश गरे पनि संविधान अनुकूल कानुन परिमार्जन नहुँदा व्यावहारिक समस्या थियो । संविधानले आमा वा बाबुमध्ये एकबाट नागरिकता लिन सक्ने व्यवस्था गरे पनि सो अनुकूल कानुन परिमार्जन भएको थिएन । सरकारले नागरिकता वितरणमा व्यावहारिक समस्या सम्बोधनका लागि गत माघ १५ गते विधेयक प्रतिनिधि सभामा दर्ता गरेको थियो ।
राज्यव्यवस्था तथा सुशासन समितिले सरकारले ल्याएको प्रस्तावमा सामान्य परिमार्जनसहित विधेयक पारित गरेको हो । समिति सभापति रामहरि खतिवडाले कानुनी रूपमै अब आमाको नामबाट पनि नागरिकता लिने बाटो खुल्ने गरी समितिले विधेयकको प्रतिवेदन पारित गरेको बताउनुभयो । खतिवडाले भन्नुभयो, “हामीले समितिबाट प्रतिवेदनसहितको विधेयक पारित गरेका छौँ । प्रतिवेदन शीघ्र हाउसमा पेस हुने छ ।”

पारित भएको प्रतिवेदन अनुसार अब आमा वा बाबुमध्ये एकको नाम राखेर नागरिकता जारी गर्न मिल्नेछ । यस्तै समितिले नागरिकता जारी गर्ने अधिकार पाएको इलाका प्रशासन कार्यालयको छैटौँ तहसम्मको कर्मचारीलाई नागरिकता जारी गर्ने अधिकार हुने गरी प्रतिवेदन पारित गरेको छ । अधिकृत तहको कुनै पनि कर्मचारीलाई यो अधिकार दिने गरी प्रतिवेदन स्वीकृत गरिएको सभापति खतिवडाले बताउनुभयो ।
नागरिकता वितरणको व्यावहारिक समस्या सुल्झाउन विभिन्न मुद्दामा सर्वोच्च र उच्च अदालतले गरेको आदेश कार्यान्वयनका लागि सरकारले विधेयक अघि बढाएको थियो । विधेयकले वैदेशिक रोजगारमा जाँदा विदेशमै बच्चा जन्माएका व्यक्तिका सन्तानले नागरिकता पाउने बाटो पनि खोलेको छ । वैदेशिक रोजगारमा गएका बेला विदेशमै सन्तान जन्माएर फर्किएका महिलाका सन्तानलाई बाबु पहिचान नभएको अवस्थामा नेपाली नागरिकता पाउने छन् ।
जन्मदर्ता तथा शैक्षिक प्रमाणपत्रमा बाबुको नाम भएका तर अन्य पहिचान नखुलेको तथा बाबु सम्पर्कमा नरहेका व्यक्तिलाई आमाको नामबाट नागरिकता दिइने छ । स्वघोषणलाई भने अनिवार्य गरिएको छ । स्वघोषणा गलत ठहर भएमा एक वर्षसम्म कैदको व्यवस्था पनि विधेयकमा गरिएको छ । यस्तै बाबु वा आमामध्ये एकले जन्मका आधारमा नागरिकता लिएको तर अर्कोले नागरिकता नलिँदै मुत्यु भएको अवस्थामा निजहरूका सन्तानले पनि नागरिकता पाउने छन् । बाबुले नागरिकता नपाउँदै मृत्यु भएकोमा आमाकै नामबाट नागरिकता पाउने विकल्प विधेयकले दिएको छ ।
अब नाबालक परिचयपत्र जारी गर्ने व्यवस्था गरिएको छ । १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये एक नेपाली नागरिक रहेको नाबालकलाई यस्तो परिचयपत्र जारी हुने छ । वैदेशिक यात्रामा राहदानी प्राप्त गर्ने प्रयोजनका लागि परिचयपत्रको विकल्प अघि सारिएको हो । समितिबाट पारित प्रतिवेदनसहितको विधेयक अब प्रतिनिधि सभामा पेस हुने छ । प्रतिनिधि सभाले पारित गरेपछि विधेयक राष्ट्रिय सभामा पठाइने छ । दुवै सदनबाट पारित र प्रमाणित भएपछि प्रमाणीकरणको प्रक्रिया अघि बढ्ने छ ।गोरखापत्र अनलाइन