२०८२ असार ८ आईतवार

किसानलाई दुधको पाँच अर्ब दिन बाँकी

लक्ष्मी सापकोटा

काठमाडौँ, जेठ २२ गते । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपियाँ भुक्तानी गर्न छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले दुध खरिद गरेबापतको किसानको पाँच अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको हो ।

निजी डेरी उद्योग र डिडिसीले चार महिनादेखि छ महिनासम्मको दुधको भुक्तानी नगर्दा किसान मारमा परेका छन् । डिडिसीले मात्रै एक अर्ब रुपियाँ र निजी दुग्ध डेरीको साढे तीन अर्बदेखि चार अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको केन्द्रीय दुग्ध उत्पादन सहकारी सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष अमर कुँवरले दुधको भुक्तानी नियमित नहुँदा किसान मारमा परेको जानकारी दिनुभयो ।

“चारदेखि छ महिनासम्मको किसानको झन्डै पाँच अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ,” यस विषयमा सम्बन्धित निकायलाई जानकारी गराए पनि अझै रकम भुक्तानी हुन सकेको छैन ।”

यस विषयमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सकारात्मक भए पनि अन्य निकायसमेत जिम्मेवार नहुँदा समयमा किसानले रकम पाउन नसकेको उहाँको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने डिडिसीले केही समयभित्रमा किसानको रकम भुक्तानी गर्न लागेको जानकारी दिनुभयो । “डिडिसीले रकम भुक्तानी गरेन भनेर निजी डेरी उद्योग जिम्मेवारीबाट पन्छिन हुँदैन,” मन्त्री अधिकारीले भन्नुभयो, “दुधको रकम जतिसक्दो छिटो भुक्तानी गर्न डेरी उद्योगलाई आग्रह गर्दछु ।”

डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले भने दुध बिक्री नहुँदा नियमित रूपमा रकम भुक्तानी गर्न नसकेको बताउनुभयो । पछिल्लो समय बजारमा दुधको खपत घटेकाले डेरी उद्योगले बनाएको पाउडर दुधसँगै बटर बिक्री नहुँदा समयमा किसानको रकम भुक्तानी गर्न नसकिएको उहाँको भनाइ छ ।

गाउँ गाउँमा सडक पहुँच हुँदा गाउँको दुधसमेत सहरमा आउन थालेपछि बजारमा बढी दुध भित्रिनुका साथै माग नै कम हुँदा खपतमा कमी आएको उहाँको भनाइ छ । बजारमा खपत नभएको दुध डेरी उद्योगले धुलो दुधसँगै बटर बनाएर राख्ने गरेका छन् । बटर बिक्री नहुँदा ठुलो परिमाणमा उद्योगसँग मौज्दात रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दुधको खपत घटेकाले उपभोग बढाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । दुधको खपत बढाउन दुध तथा दुग्धजन्य पदार्थको विविधीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

बजारमा ७० प्रतिशत निजी डेरी र ३० प्रतिशत डिडिसीले दुध वितरण गर्ने गरेका छन् । किसानले उत्पादन गर्ने र सहकारीले सङ्कलन गरेर बजारमा दुध पठाउने गर्छन् । डेरी उद्योग सङ्घका अनुसार दैनिक ३१ करोड रुपियाँ बराबरको ७२ लाख लिटर दुध उत्पादन हुने गरेको छ । दैनिक १२ करोड रुपियाँ बराबरका दुध बिक्री हुने गरेको छ जसमा नौ करोड रुपियाँ सहरबाट किसानका हातमा गाउँमा जाने गरेको छ । डेरी उद्योग र सहकारीमार्फत जुन रकम गाउँमा जाने गरेको छ ।

सङ्घका अनुसार ३६ लाख लिटर दुध गाउँघरमै घरायसी खपत हुने र ३६ लाख लिटर दैनिक बजारमा आउने गरेको छ । त्यसमध्ये १२ लाख लिटर दुध औपचारिक र १८ लाख लिटर दुध अनौपचारिक माध्ययबाट बजारमा जाने गर्छ । यस्तै छ लाख लिटर दुध किसानले घर घरमा डुलेर बिक्री हुने गरेको छ ।

दुग्ध क्षेत्रमा ३० अर्ब रुपियाँ लगानी र एक लाखभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । किसानले दुध बिक्री गरेर प्रतिलिटर ६५ रुपियाँ पाउँछन् । बजारमा उपभोक्ता मूल्य भने प्रतिलिटर एक सय रुपियाँ रहेको छ । खुला दुध भने प्रतिलिटर ११० रुपियाँसम्म बिक्री हुने गरेको छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

२०८२ जेष्ठ २३, बिहीबार प्रकाशित 0 Minutes 24 Views

ताजा समाचार