२०८३ जेष्ठ २१ बिहीबार

युरोपेली सामानमा अमेरिकी शुल्क स्थगनको असरः जापानको सेयर बजारमा उच्च वृद्धि

काठमाडौं- अमेरिकाले युरोपेली संघका वस्तुहरूमा लगाइने भन्सार शुल्क केही समयका लागि स्थगन गर्ने निर्णय गरेपछि टोकियोको सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ।

टोकियोको प्रमुख सेयर सङ्केतक २२५ अंकमा आधारित ‘निक्केई परिसूचक’ ३७ हजार ५३१ दशमलव ५३ मा पुगेर बन्द भयो, जुन अघिल्लो कारोबार दिनको तुलनामा ३७१ दशमलव ०६ अङ्कले अर्थात् एक प्रतिशतले वृद्धि हो ।

निक्केई परिसूचक जापानको सबैभन्दा ठूलो सेयर बजार संकेत हो, जसले टोकियो स्टक एक्सचेन्जका प्रमुख २२५ कम्पनीको सेयर मूल्यको औसत देखाउँछ।यसले जापानको सेयर बजारको समग्र स्थितिको मापन गर्न सहयोग गर्छ ।

भन्सार शुल्क स्थगनको घोषणापछि प्रारम्भिक टोकियो कारोबारमा अमेरिकाको सेयर सङ्केतकको पूर्वानुमान वृद्धि भएको थियो, जसले लगानीकर्ताको मनोबल बढाएको थियो ।

त्यस्तै, विस्तृत बजार परिसूचक ‘टोपिक्स’ पनि १६ दशमलव ३९ अङ्कले अर्थात् शून्य दशमलव ६ प्रतिशतले बढेर २ हजार ७५१ दशमलव ९१ मा पुगेको छ । टोपिक्स भनेको टोकियो स्टक एक्सचेन्जमा सूचीकृत सबै ठूला कम्पनीहरूको समग्र प्रदर्शन देखाउने विस्तृत बजार परिसूचक हो । यसले जापानी सेयर बजारको व्यापक आर्थिक स्थिति मापन गर्छ ।

टोकियोको प्रमुख सेयर बजारमा कारोबार भएका कुल कम्पनीहरूमध्ये एक हजार ८५ को मूल्य बढेको, ४८२ को घटेको र ६४ कम्पनीको मूल्य स्थिर रहेको थियो ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ जेष्ठ १३, मंगलवार प्रकाशित 1 Minute 196 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।